हट्दै गयो विवाह नगरी बच्चा जन्माउने चलन

बाइलाइन नेपाल
३ पुष २०७७, शुक्रबार ०७:३२

हुम्लाको नाम्खा गाउँपालिका–६ को हिमालपारिको गाउँ लिमीका तीनवटै बस्तीमा पहिलेदेखि चलिआएको न्येलु प्रथा अब बिस्तारै घट्न थालेको छ ।

विवाह नगरे पनि महिलाले बच्चा जन्माउने र त्यस्ता महिलालाई उनीहरूका बाबुले नै घरबासको बस्दोबस्त गरिदिने प्रथालाई हुम्लामा न्येलु प्रथाका रूपमा चिनिन्छ । कानुनले वर्जित गरेको तर समाजमा विगतमा चलिआएको यो प्रथालाई कतिपयले कुप्रथा पनि भन्ने गर्छन् । पछिल्लो समय युवामा शिक्षा र चेतनाकै कारण गाउँमा यो प्रथा निकै घट्न थालेको पाइएको छ । यो परम्परा लामो समयदेखि रहे पनि यता चार वर्षमा यस्तो प्रथाअनुरूप बच्चा नजन्मिएको स्थानीय बताउँछन् ।

लिमीका तीनै गाउँमा युवती बढी तर युवक कम भएकै कारण न्येलु प्रथा विगतमा मौलाउन पाएको भए पनि केही वर्षयता लिमीबाट छोरी काठमाडौंँ र भारतका विभिन्न स्थानमा अध्ययन गर्न जान थालेपछि यो प्रथा कम भएको स्थानीय फुर्बु तामाङले बताए ।

लिमीका तीनै गाउँमा पहिलेबाटै न्येलु प्रथा मानेर बसेका महिलाको सङ्ख्या अहिले १६ छ । लिमीमा १४७ घरधुरीमा एक हजार दुई सय जनसङ्ख्या छ । यो प्रथा अनुसार छोरीले विवाह नगरी कसैको बच्चा जन्माएमा बाबुले एकसरो व्यवस्था गरेर राख्नुपर्ने चलन छ । न्येलु प्रथाका १६ जनालाई बाबुले व्यवस्था गरेको घरमा बस्दै आएका छन् तर बच्चाको बाबुले भने केही जिम्मेवारी नलिने चलन अनौठो नै छ ।

यो प्रथालाई स्वीकार गरेर बस्दै आएकी लिमी हल्जी गाउँकी पेमा आङ्मु तामाङले विगतमा यसबारे नबुझेर आफूले स्वीकार गरे पनि पछिल्लो पुस्ताका युवती यसमा नलागेको बताइन् । दुईवटा बच्चाकी आमा तामाङले न्येलु प्रथा नै बहुपति प्रथाको कारण बनेको मत पनि राखिन्। विगतमा यो प्रथा कायम रहे पनि लिमीमा हाल यो क्रम घट्दो क्रममा रहेको बताइन् ।

आम सञ्चार माध्यममा न्येलु प्रथा राम्रो होइन भन्ने कुरा आउन थालेपछि लिमीवासीले पनि यसलाई विकृतिका रूपमा लिन थालेको स्थानीय बताउँछन् ।

लिमीबाट बाहिर अध्ययन गर्न जाने युवती यो प्रथाको विरोधमा छन् । बाहिर पढ्न गएका कोही यो प्रथामा सहमत नभएको स्थानीय लेण्डाप तामाङले बताउँछन् । उनले युवतीलाई दुःख पनि हुने र हेयका दृष्टिले समेत हेर्न थालिएपछि यो प्रथालाई अस्वीकार गर्ने गरिएको तामाङको भनाइ छ ।

चार/पाँच वर्षयता लिमी गाउँमा एक जनाले पनि विवाहपूर्व बच्चा जन्माएका छैनन् । बाहिर पढ्न गएका युवती उतै विवाह गर्न थालेको र गाउँ फर्केर नआएपछि गाउँमा केटा मान्छे बढी हुन थालेका छन् ।

आगामी दिनमा त केटाले विवाह गर्न पो नपाउने हो कि भन्ने चिन्ता सुरु भएको लिमीका वडाध्यक्ष पाल्जोर तामाङ बताउँछन्। सामाजिक मान्यता भएको तर कानुनी रूपमा यसमा केही गर्न नसकिए पनि युवतीले यसको बेफाइदा बुझ्न थालेपछि आफैँ हराउने विश्वास उनले व्यक्त गरे। राजन रावतले गोरखापत्र दैनिकमा खबर लेखेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*