सुविधाको खोपमा भर परे ढिलाइ

बाइलाइन नेपाल
२८ मंसिर २०७७, आईतवार ०८:०७
फाइल तस्वीर

कोभिड–१९ विरुद्घको खोप तयार भएपछि छिटो ल्याउन सरकार–सरकार (जीटूजी) र निजी क्षेत्र दुवै सहभागी हुनुपर्ने देखिएको छ । सुविधाबाट पाउने खोपको मात्र भर पर्दा धेरै ढिला हुने भएकाले दुवै विकल्पमा तुरुन्त अघि बढ्नुपर्ने विज्ञहरूले बताएका छन् ।

एउटै प्रक्रियामा भर पर्दा समयमै खोप ल्याउन नसकिए मुलुकको स्वास्थ्य, रोजगार, अर्थतन्त्र, व्यापार, व्यवसायलगायत झन् प्रभावित हुन सक्ने उनीहरूको भनाइ छ । जनस्वास्थ्यविद् डा. सुरेश तिवारीले खोप ल्याउन सबै विकल्प खुला गर्नुपर्ने बताए । पछिल्लो समय कोरोनाबाट मृत्युदर बढेकाले पनि खोप प्रमाणित भएपछि जतिसक्दो छिटो ल्याउनुपर्ने अवस्था छ ।

‘आम नेपालीलाई खोपमा सहज पहुँच सुनिश्चित गर्न सबै विकल्प खुला राखेर अघि बढ्नुपर्छ,’ जनस्वास्थ्यविद् डा. तिवारीले भने, ‘कोभाक्स तत्काल समाधान हैन । एउटा विकल्प सफल नहुँदा अर्को विकल्पले काम गर्न सक्छ ।’ उनले दक्षिण एसियाका मुलुकले निजी क्षेत्रलाई खोप ल्याउन अनुमति दिइसकेको बताए । ‘बंगलादेशले निजी क्षेत्रलाई अनुमति दिएको छ,’ डा. तिवारीले भने, ‘सरकारले अन्य सरकारसँग पहल गरेर खोप भित्र्याउने प्रयाससँगै विशेष गाइडलाइन बनाएर गुणस्तरीय खोप ल्याउने सुनिश्चिततासहित पारदर्शी रूपमा अधिकतम बिक्री मूल्य तोकेर निजी क्षेत्रका लागि प्रक्रिया खुला गर्नुपर्छ ।’

सरकारसँग कोरोना नियन्त्रणका लागि काम गरिरहेका अर्का विज्ञ डा. जीडी ठाकुरले पनि प्रमाणित खोप जतिसक्दो छिटो ल्याउने परिस्थिति सिर्जना भइसकेको बताए । ‘सरकारले नियन्त्रण, अनुगमन र गुणस्तर सुनिश्चित गर्दै निजी क्षेत्रलाई मुलुक सुहाउँदो खोप ल्याउन अनुमति दिनुपर्छ,’ इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक एवं कोरोना खोप व्यवस्थापन समितिका सदस्य डा. ठाकुरले भने ।

उनका अनुसार निजी क्षेत्रले समयमै खोप ल्याए अन्य आर्थिक बजेटमा कटौती गरेर पनि आम नेपालीले खोप लगाउन तयारी गर्नुपर्छ ।

विज्ञहरूले सरकारले निर्धारण गरेको गाइडलाइनमा रहेर निजी क्षेत्रले गुणस्तरीय, सुरक्षित र प्रभावकारी खोप ल्याउन चाहे सक्षम कम्पनी छानेर अनुमति दिनुपर्ने सुझाव दिएका छन् । नेपालमा कोरोनाको दोस्रो लहर आउने आकलन भइरहेका बेला उनीहरूले यस्तो बताएका हुन् । स्वास्थ्य मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. बाबुराम मरासिनीले कोभ्याक्स सुविधाबाहेक नेपालले सरकार र निजी क्षेत्रबाट समेत खोप किन्ने दोहोरो रणनीति अँगाले खोप छिटो ल्याउन सकिने र त्यसले महामारी नियन्त्रणमा ठूलो काम गर्ने बताए ।

सरकारले निर्माण गरेको भ्याक्सिन द्रुत कार्ययोजनाअन्तर्गतको ८ वटा कार्यक्षेत्रका एक सदस्य भन्छन्, ‘सरकारले दुईवटा रणनीति अँगाल्नुपर्छ, एउटा कोभाक्सअनुसार अगाडि बढ्नुपर्छ, अर्को सरकारी र निजी क्षेत्र दुवैले आ–आफ्नो च्यानलबाट खोप ल्याउन पहल गर्नुपर्छ ।’

अझै केही महिनासम्म कोभिडविरुद्घको खोप बजारमा उपलब्ध हुन धेरै कठिन हुने उल्लेख गर्दै कार्ययोजनाका ती सदस्य भन्छन्, ‘तत्काल हेर्दा भारतमा उत्पादन हुने विश्वकै सबैभन्दा ठूलो खोप निर्माता सिरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरिरहेको कोभिडविरुद्घको खोप ल्याउनु उचित हुन्छ ।’ सिरम इन्स्टिच्युट अफ इन्डियाले अक्सफोर्ड र एस्ट्राजेनेकाको खोप ‘कोभिशिल्ड’ नामले निर्माण गरिरहेको छ । यो भारतमा आपत्कालीन प्रयोगका लागि अनुमति पाउने अन्तिम चरणमा छ ।

अमेरिकाको कम्पनी नोवावैक्सले समेत ‘ग्यालको प्रोटिन न्यानो पार्टिकल खोप’ निर्माण गर्न करार गरेको छ । सिरम इन्स्टिच्युटसँग बर्सेनि दुई अर्ब मात्रा नोवावैक्स खोप बनाउने सम्झौता भएको छ । हाल नियमित खोप कार्यक्रमअन्तर्गत नेपालमा उपयोग भइरहेको १२ वटा खोपमध्ये करिब एक तिहाइ खोप सिरम इन्स्टिच्युटकै रहेको औंल्याउँदै बाल स्वास्थ्य तथा खोप शाखाका एक पदाधिकारीले भने, ‘सिरम इन्स्टिच्युटसँग पहिलेदेखि नै हाम्रो मुलुकको राम्रो सम्बन्ध छ । सरकारले पहल गरे ३–४ करोड मात्रा (डोज) खोप पाउन गाह्रो हुँदैन ।’ कान्तिपुर दैनिकमा अतुल मिश्रले खबर लेखेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*