करोडौं मूल्य पर्ने मन्दिरको सार्वजनिक जग्गा व्यक्तिको नाममा : रातारात जग खनियो !

वीरगन्जको मुख्य व्यपारिक केन्द्र घण्टाघर नजिक रहेको करोडौं मूल्य पर्ने मन्दिरको सार्वजनिक जग्गा, निजी व्याक्तिले आफ्नो नाममा गराएको खुलासा भएको छ। वीरगन्ज महानगरपालिका–८ मा पर्ने घण्टाघर नजिकको शिवा हस्पिटल रोडमा अवस्थित सुर्वण मन्दिरको नाममा १ कठ्ठा ११ धुर जग्गा छ।
मन्दिरको सार्वजनिक उक्त जग्गामध्ये मुख्य सडकसँग जोडिएको ७ धुर जग्गा नसीमा खातुनले मालपोत कार्यालयबाट आफ्नो नाममा रजिष्ट्रेशन पास गराएकी हुन्।
मन्दिरको उक्त सार्वजनिक जग्गामा खातुनले बिहीबार राति रातारात एक्साभेटर लगाएर जग खनेपछि शुक्रबार बिहान वडा अध्यक्षसहितका स्थानीयले त्यहा पुगेर विरोध जनाएका छन्।
शुक्रबार बिहान वडाध्यक्ष, हिन्दुवादी अगुवा र स्थानीयको भीडले निर्माण कार्यमा अवरोध गरेपछि केही समय तनाव भएको थियो। सम्भावित झडपलाई मध्यनजर गर्दै मन्दिरको उक्त जग्गामा शुक्रबार बिहान प्रहरी पनि परिचालन गरिएको थियो।
मन्दिरको नाममा रहेको सार्वजनिक जग्गा, निजी व्याक्तिको नाममा रजिष्ट्रेशन पास हुनै नसक्ने भन्दै स्थानीयले मन्दिरको जग्गामा निजी संरचना बनाए त्यसले ठूलो दुर्घटना निम्त्याउने चेतावनी दिएका छन्।
मन्दिरको नाममा रहेको सार्वजनिक जग्गा, मुभाफीयाले मालपोत र नापी शाखाका कर्मचारीको मिलोमतोमा फर्जी तरिकाले आफ्नो नाममा गराएको स्थानीयको भनाइ छ।
मन्दिरको सार्वजनिक जग्गा निजी कसरी बनाइयो ?
२०४७ सालको नापी अनुसार, साविकको वडा नम्बर १० (हाल वडा नम्बर ८) स्थित कित्ता नम्बर ५ को १ कठ्ठा ११ धुर २ कनवा जग्गा, एक राणा परिवारले २०४९ साल वैशाख १३ गते सुर्वण मन्दिरको नाममा दान गरेर रजिष्ट्रेसन पास गरिदिएका थिए।
मन्दिरको नाममा रजिष्टे«शसन पास गरिएको ७ वर्षपछि २०५६/०९/०२ मा कित्ता नम्बर ५ बाट कित्ताकाट गराई ७ धुर जग्गाको कित्ता नम्बर ३०२ कायम गरिएको देखिन्छ।त्यस बीचमा मन्दिरको १ कठ्ठा ११ धुर २ कनवा जग्गा जग्गामध्ये १० धुर जग्गा ४ पटक खरिद बिक्री भएको देखिन्छ।
२०५१/०४/१६ मा मन्दिरको नाममा रहेको १० धुर जग्गा, रतनकुमार शर्माले मुरलीधर शर्मासँग खरिद गरेर आफ्नो नाममा रजिष्ट्रेसन पास गरेको देखिन्छ।
२०५६/०४/२६ मै त्यही जग्गा रतनले आशदेवी अग्रवालको नाममा पास गरेर बिक्री गरेको देखिन्छ। आशादेवीले भने २०५६/०६/२५ मा १० धुरमध्येको ७ धुर जग्गा बिक्री गरेर वासुदेव माडवारीको नाममा रजिष्ट्रेसन पास गरेर बाँकी ३ धुर जग्गा भने आफ्नै नाममा राखेको देखिन्छ।
अहिले जग्गाको धनी भएको दाबी गर्ने नसीमा खातुनले भने बासुदेव माडवारीबाट उक्त ७ धुर जग्गा २०५६/०७/१७ मा आफ्नो नाममा रजिष्ट्रेसन पास गराएको देखिन्छ। अन्नपूर्ण पोस्टमा क्रान्ति शाहले खबर लेखेका छन् ।