कोरोना संक्रमणपछि सन्दीप लामिछाने अस्पताल भर्ना

बाइलाइन नेपाल
१६ मंसिर २०७७, मंगलवार ०७:४०

कोरोना संक्रमण भएका नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछाने सोमबार अस्पताल भर्ना भएका छन् ।शनिबार गरिएको परीक्षणपछि उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो । शनिबारै उनले सामाजिक सञ्जालमार्फत सामान्य लक्षण देखिएपछि परीक्षण गर्दा कोरोना भाइरसको संक्रमण पोजिटिभ पाइएको र गम्भीर लक्षण नभएकाले घरमै आइसोलेसनमा बसिरहेको जानकारी दिएका थिए ।

सोमबार शरीरमा अक्सिजनको मात्रा कम भएपछि उनी ह्याम्स अस्पताल भर्ना भएका हुन् । राष्ट्रिय टोलीका प्रशिक्षक जगत टमाटाले अस्पताल भर्ना भए पनि सन्दीपको अवस्था सामान्य रहेको जानकारी दिएका छन् ।

‘कोरोना संक्रमित भएपछि होटलकै आइसोलेसनमा थिए । आज राति श्वासप्रश्वासमा समस्या देखिएका कारण बिहान अस्पताल भर्ना भएका हुन् । उनको अवस्था सामान्य छ,’ टमाटाले सन्दीपसँग नियमित सम्पर्कमा रहेको बताएका छन् ।

कोरोना महामारीकै बीच आयोजित क्यारेबियन प्रिमियर लिग (सीपीएल) र इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट प्रतियोगिताबाट फर्किएका सन्दीप राष्ट्रिय टोलीको प्रशिक्षणमा सहभागी हुनेक्रममा थिए । छिट्टै उनी अस्ट्रेलियाको घरेलु ट्वान्टी–२० प्रतियोगिता बिगबास लिग खेल्न जाँदैछन् । बिगबास लिगमा यसपालि उनले होबर्ट हरिकेन्सबाट खेल्नेछन् । कान्तिपुर दैनिकमा खबर छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*