चार जिल्लामा मात्रै ५०० भन्दा बढी सक्रिय संक्रमित
नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या निरन्तर घट्दै गएको छ । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपलब्ध गराएको अध्यावधिक विवरणअनुसार काठमाडौं उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) र कास्कीमा मात्रै ५०० भन्दा धेरै कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।
मन्त्रालयका अनुसार कास्कीमा ७५१ जना सक्रिय संक्रमित रहेका छन् भने काठमाडौंमा ७ हजार ६६०, भक्तपुरमा ५८० र ललितपुरमा १ हजार ४९९ जना सक्रिय संक्रमित रहेका छन् । हाल मनाङ, मुगु र डोल्पाबाहेक सबै जिल्लामा सक्रिय संक्रमित रहेपनि ती जिल्लामा न्यून संख्यामा रहेका छन् ।
हाल देशभर सक्रिय संक्रमित १६ हजार ६३९ जना रहेका छन् भने संक्रमण मुक्त हुने दर ९२ प्रतिशत पुगेको छ । पछिल्लो २४ घण्टामा ९ हजार २१० जनाको पीसीआर परीक्षण भएको छ भने हालसम्म पीसीआर संख्या १६ लाख ९० हजार ५०९ पुगेको छ ।
यस्तै पछिल्ले २४ घण्टामा थप २८ जनाले ज्यान गुमाएसँगै कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १३८९ पुगेको छ ।मन्त्रालयका अनुसार वितेको २४ घण्टामा देशभर १९४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख २६ हजार २६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले २४ घण्टामा ३१४० जना संक्रमणमुक्त रहेको पनि जानकारी दिए । यससँगै कोरोना निको हुनको संख्या २ लाख ७ हजार ९९८ पुगेको छ । यसैबीच पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८३५ जना संक्रमित थपिएका छन् । त्यसमध्ये महिला ३५० र पुरुष ४८५ जना रहेका छन् ।

बाइलाइन नेपाल











