कोरोनाकै बीच हेटौंडाका विद्यालय खोल्ने कसरत

बाइलाइन नेपाल
६ मंसिर २०७७, शनिबार १४:३०

हेटौंडा । कोरोना भाइरस जोखिम नभएका तथा कम जोखिम भएका विद्यालय सञ्चालनको जिम्मा स्थानीय सरकारले पाएपछि हेटौंडा उपमहानरपालिका भित्रका विद्यालय खोल्ने कसरत गरिएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले कार्यविधि तयार गरी विद्यालय सञ्चालन गर्ने जिम्मा स्थानीय सरकारलाई दिएपछि विद्यालय खोल्ने तयारी थालिएको हो ।

हेटौंडा उपमहानगरपालिकाले शुक्रबार निजी विद्यालयका प्रधानाध्यापकसँग अन्तक्र्रिया गर्दै विद्यालय सञ्चालनको विषयमा छलफल गरेको छ । निजी विद्यालयका सञ्चालकहरुले विद्यालय खोल्नुपर्ने बताएका छन् । सञ्चालक मध्ये केहीले अझै विद्यालयमा पठनपाठन सुरु गर्न हतार गर्न नहुने बताएका छन् । अहिले हतार गरेर पछि बन्द गर्नुभन्दा केही समय कुर्नपर्ने भनाइ केहीको रहेपछि केहीले सञ्चालन गर्नुपर्ने बताएका छन् ।

हेटौंडाका नगर प्रमुख हरिबहादुर महतले स्वास्थ्य सावधानी अपनाएर विद्यालय खोलिने जानकारी दिए । धेरै विद्यार्थी भएका विद्यालयमा पालैपालो पठनपाठन गर्ने महतले बताएका छन् । विद्यालयले स्यानीटाइजर, मास्क, हात धुने साबुनको अनिवार्य व्यवस्था गरी सामाजिक दुरी कायम गरेर मात्र पठनपाठन सञ्चालन गर्न आग्रह गरे । उपमहानगरले आगामी आइतबार सामुदायिक विद्यालयका प्रधानध्यापकसँग विद्यालय खोल्ने विषयमा छलफल गर्ने भएको छ ।

छलफलबाट निस्किएको निष्कर्षका आधारमा नगर शिक्षा समितिको बैठकले विद्यालय सञ्चालनको निर्णय गर्ने महतले बताए । निजी विद्यालयका प्रधानाध्यापकसँग कक्षा १ देखि १२ सम्मको पठनपाठन कसरी सञ्चालन गर्ने भन्ने विषयमा लिखित सुझाव लिइएको छ । कोरोना भाइरस संक्रमणका कारण विगत ८ महिना देखि निजी तथा सामुदायिक विद्यालय बन्द छन् ।

लकडाउनको अवस्थामा विद्यालय नै आइसोलेसन तथा क्वारेन्टाइनको रुपमा समेत प्रयोग भएका थिए । यसबीच वैकल्पिक विधिबाट समेत कतिपय विद्यालयले पठनपाठन सञ्चालन गरिरहेका छन् । तर अनलाइन प्रणालीमार्फत् सबै विद्यार्थीहरुको पहुँच पुग्न सकेको छैन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*