३० मिनेटमै कोरोना जाँच्ने नयाँ मेसिन, घरमै प्रयोग गर्न मिल्ने

बाइलाइन नेपाल
४ मंसिर २०७७, बिहीबार ०८:२१

कोभिड–१९ को तीव्र परीक्षण गर्न विकसित नयाँ विधि प्रयोगमा ल्याउन अमेरिकी सरकारले अनुमति दिएको छ । आपत्कालीन अवस्थामा मात्रै प्रयोग गर्न सकिने गरी पहिलो पटक यस्तो अनुमति प्रदान गरिएको हो । घरमा समेत प्रयोग गर्न मिल्ने यस विधिले ३० मिनेटमा नै कुनै व्यक्तिलाई भाइरसको संक्रमण भए/नभएको नतिजा देखाउने जनाइएको छ ।

अमेरिकी सरकारको नियामक निकाय फुड एन्ड ड्रग एड्मिनिस्ट्रेसनले उक्त विधि भाइरस नियन्त्रणका लागि एउटा महत्त्वपूर्ण कदम हुने जनाएको छ । हाल प्रारम्भिक चरणमा यो विधिलाई सीमित ठाउँमा र सीमित अवस्थामा मात्रै प्रयोग गर्न दिइने अधिकारीहरूले जनाएका छन् ।

प्रयोगका लागि अनुमति दिइएको विधि क्यालिफोर्नियास्थित औषधि उत्पादक कम्पनी लुकिरा हेल्थले उत्पादन गरेको हो । बिरामी आफैंले नाकबाट स्वाब परीक्षण गर्न मिल्ने र औषधि प्रयोग गर्न सक्ने पनि कम्पनीका अधिकारीहरूले जानकारी दिएका छन् । अमेरिकामा हाल घरमै पनि व्यक्तिले स्वाब लिएर परीक्षणका लागि प्रयोगशालामा पठाउन सक्छन् वा तोकिएका स्वास्थ्य केन्द्रमा गएर परीक्षण गर्न सक्छन् । तर परीक्षणको नतिजा प्राप्त गर्न भने लामो समय पर्खिनुपर्छ । कान्तिपुर दैनिकमा खबर छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*