हुम्लाका शैक्षिक संस्था फेरि बन्द, अन्तरपालिका आवतजावतमा पनि रोक

बाइलाइन नेपाल
४ मंसिर २०७७, बिहीबार ०७:३२

हुम्लामा फेरि शैक्षिक संस्था बन्द भएका छन् ।बुधबार बसेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन समितिको बैठकले आजदेखि जिल्लाभर शैक्षिक संस्था बन्दको निर्णय गरेको हो ।

यस्तै हुम्लाका सातवटै गाउँपालिकामा प्रवेश गर्ने मुख्य नाकामा सुरक्षा जाँचमा कडाइ गरिने निर्णय भएको छ ।जिल्ला बाहिरबाट प्रवेशमा रोक लगाउनुका साथै अन्तरपालिका आवतजावतमा समेत कडाइ गरिने भएको छ ।

लामो समयको बन्दाबन्दीपछि कात्तिक दोस्रो हप्ताबाट सञ्चालनमा आएका जिल्लाभरका शैक्षिक संस्था पुनः बन्द हुने निर्णयले विद्यार्थीको पढाईमा असर पर्ने भएको छ ।

कोभिड–१९ को सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै मङ्सिर ४ गतेदेखि जिल्लाका सातवटै स्थानीय तहमा रहेका सबै शैक्षिक संस्थामा अर्को व्यवस्था नहुँदासम्मका लागि पठनपाठन बन्द गरिने भएको छ ।

उत्तरी नाम्खा गाउँपालिकाको याल्वाङमा रहेको महाबौद्ध माध्यमिक विद्यालयमा ५१ विद्यार्थीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि जिल्लाभरका शैक्षिक संस्था आजदेखि बन्द गरिएको हो ।

नाम्खा र सिमकोट गाउँपालिकामा आवतजावतमा तीन दिनका लागि बन्द गर्ने निर्णय भएको छ ।उत्तरी नाम्खा गाउँपालिकामा पाँच दिनको अवधिमा ५६ कोरोना सङ्क्रमित भेटिएपछि जिल्ला कोभिड–१९ व्यवस्थापन समिति तातिएको छ ।

नाम्खा गाउँपालिकामा कोरोना सङ्क्रमणको दर बढ्दो क्रममा रहेकाले यसको नियन्त्रण तथा रोकथाममा लागि स्वास्थ्य सेवा कार्यालय हुम्लाले जिल्लाका सातवटै स्थानीय तहसँग समन्वय गरेर परीक्षणको दायरालाई बढाउने भएको छ ।

कोरोना लक्षणसहित सिकिस्त बिरामीलाई सुविधायुक्त अस्पतालसम्म पुर्‍याउनका लागि कर्णाली प्रदेश सरकारलाई हेलिकप्टरको व्यवस्थाका लागि आग्रह गरिने प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीले बताए ।जिल्लामा रहेका दुईवटा भेन्टिलेटरले अपुग हुने भएकाले थप दुईवटा प्रदेश सरकारसँग माग गरिने भएको छ ।

यस्तै सिमकोट गाउँपालिकाले क्वारेन्टिन व्यवस्था गर्ने, जिल्लास्तरको आइसोलेसन र १० शैय्या क्षमताको क्वारेन्टिनको व्यवस्था गरिने भएको छ ।नेपालगञ्ज र सुर्खेतबाट आएका यात्रुको ज्वरो मापन गर्नका लागि सिमकोट विमानस्थलमा राखिएको हेल्थ डेस्कलाई थप व्यवस्थित गरेर सञ्चालन गरिने भएको छ ।

नेपालगञ्ज र सुर्खेतबाट हवाईमार्ग भएर सिमकोट पुगेका यात्रुले कोरोना सङ्क्रमण नभएको नक्कली रिपोर्ट ल्याएको पाइएमा कोरोना सङ्क्रामक रोग ऐन, २०२० अनुसार कारवाही गरिने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी गिरीले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*