प्रचण्डलाई ईश्वर पोखरेलको प्रश्न : प्रस्ताव फिर्ता लिने कि दुर्भाग्य निम्त्याउने ?
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय सदस्य ईश्वर पोखरेलले पार्टी एकतालाई बचाउने हो भने राजनीतिक प्रस्ताव फिर्ता लिन पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेका छन् ।
शुक्रबारको सचिवालय बैठकमा पार्टी अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको प्रतिवेदनमा प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध गम्भीर लाञ्छना लगाइएको भन्दै प्रस्ताव फिर्ता लिएर एकता प्रकृयालाई निष्कर्षमा पुर्याउन अघि बढ्ने कि दुर्भाग्य निम्त्याउने भनेर उपप्रधानमन्त्री पोखरेलले प्रश्न गरे ।
शनिबार सामाजिक संजाल फेसबुकमार्फत पोखरेलले प्रचण्डले पार्टीका प्रथम अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली विरूद्ध अत्यन्त संगीन आरोपहरू भदौ २६ गतेको स्थायी कमिटीको निर्णय र पार्टी एकताको भावना विरूद्ध रहेको बताए ।सहमतिका साथअघि बढ्नुपर्ने, पार्टी एकता गर्दा स्वीकार गरिएका आधार र मान्यता विपरित “कि तँ छैनस् कि म छैन”, भन्ने अत्यन्त असन्तुलित र दुराग्रहपूर्ण ढंगले प्रस्ताव अघि सारिएको उनको भनाइ छ ।
प्रस्ताव फिर्ता लिएर एकता प्रकृयालाई निष्कर्षमा पुर्याउन अघि बढ्ने कि दुर्भाग्य निम्त्याउने भनेर प्रचण्ड कमरेडसहित नेकपा सबैले यसको छिनोफानो गर्नुपर्ने पोखलेरको जिकिर छ ।

बाइलाइन नेपाल











