उखु किसानको चेतावनी : छठलगत्तै माइतीघर र सिंहदरबार घेर्छौं

बाइलाइन नेपाल
२४ कार्तिक २०७७, सोमबार ०७:३३

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टसँगको छलफलपछि आइतबार मन्त्रालयमा उखु किसानका प्रतिनिधि । तस्बिर सौजन्य ः उखु किसान संघर्ष समिति

उखु किसानले चिनी मिलबाट पाउनुपर्ने बक्यौता रकम छिटो भुक्तानी हुने व्यवस्था मिलाइदिन सरकारसँग आग्रह गरेका छन् । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाई आइतबार ज्ञापन बुझाउँदै उनीहरूले बक्यौता रकम नपाए छठलगत्तै सिंहदरबार घेर्ने चेतावनी दिए ।

‘विगतमा भएको सहमति अहिलेसम्म कार्यान्वयन भएको छैन । सरकारसँग भएको सहमतिअनुसार गत माघ २५ भित्रै सबै बक्यौता पाउनुपर्ने थियो, तर पाएनौं,’ उखु किसान संघर्ष समिति सर्लाहीका सचिव हरिश्याम रायले भने, ‘छठसम्म किसानले भुक्तानी नपाए मसिर २७ देखि काठमाडौंको माइतीघर मण्डलामा हजारौं किसान भेला भई सिहदरबार घेर्नेछौं ।’

रकम भुक्तानीको माग गर्दै किसानले काठमाडौंमा आन्दोलन गरेपछि मन्त्रालयले २०७६ पुस १८ मा उखु किसानसँग पाँचबुँदे सम्झौता गरेको थियो । मन्त्रालयले तत्काल भुक्तानीको वातावरण बनाउने, मिल मालिकको सम्पत्ति बिक्री गरेर भए पनि सम्पूर्ण बक्यौता चुक्ता गर्ने आश्वासन दिएको थियो । तर एक वर्ष पुग्नै लाग्दा किसानले अझै उखुको पैसा पाएका छैनन् ।

रकम नपाएपछि किसान गत चैत ४ मा पुनः काठमाडौं आएका थिए । तर कोभिड–१९ को संक्रमण फैलिन नदिन सरकारले ११ देखि लकडाउन गर्ने निर्णय गरेसँगै किसान गाउँ फर्किएका थिए । जिल्लामा भने आन्दोलनका कार्यक्रम गरेका थिए । ‘चिनी मिलले भुक्तानी नगरेपछि जिल्लाकेन्द्रित आन्दोलन गर्‍यौं । कालो पट्टी बाँधेर किसानले काम गर्‍यौं, एक छाक भोकै बसेर काम गर्‍यौं,’ उखु किसान संघर्ष समिति सर्लाहीका अध्यक्ष रामस्वार्थ राय, सचिव हरिश्याम राय र किसान रामविलास महतोको हस्तक्षर रहेको ज्ञापनपत्रमा भनिएको छ, ‘तर सरकारले प्रतिबद्धताअनुसार काम गरेन । ठगिएको अनुभूति गरेका छौं ।’

लकडाउन अवधिमा चिनी बिक्री भए पनि रकम पाउन नसकेको किसानको गुनासो छ । ‘किसानले पुनः सडक आन्दोलनबाट नै सरकारको गलत रवैया र व्यापारीको झुक्याउने प्रवृत्तिको पर्दाफास गर्ने निर्णय गरेका छौं,’ ज्ञापनमा भनिएको छ, ‘छठभन्दा अगाडि सम्पूर्ण रकम भुक्तानी नभए मंसिर २७ देखि माइतीघर मण्डलामा किसान भेला भई सिहदरबार घेर्नेछौं ।’

संघर्ष समितिका पदाधिकारीसँगको छलफलका क्रममा वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले चिनी उद्योग संघलाई उपस्थित गराई निकास दिन छलफल चलाउने बताए । किसानले पनि भुक्तानी पाउने र उद्योग पनि बच्ने गरी समस्याको समाधान हुने उनको भनाइ छ । ‘किसानले आफ्नो बक्यौता पाउन पर्खिनुपर्छ भन्ने नभई उद्योगबाट असुलउपर गराउने प्रक्रियामा जाँदा ढिलो भइरहेको छ,’ उनले भने, ‘कतिपय चिनी मिलले भने किसानको बैंक खाता नहुँदा भुक्तानी रोकिएको बताएका छन् ।’ लुम्बिनी र श्रीराम सुगर मिल्सबाहेक अन्यको समस्या समाधान हुने चरणमा रहेको उनले दाबी गरे । मन्त्रीको आश्वासनप्रति किसान भने विश्वस्त छैनन् । छठअघि भुक्तानी पाउनेमा उनीहरूले आशंका व्यक्त गरे । कान्तिपुर दैनिकमा खबर छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*