अरिंगालको गोलाजस्तै कोरोना, फैलावट पनि उस्तै हुँदा नेपालमा झनै बढ्यो सक्रमण
सार्क मुलुकमा भारतलगायत अन्य मुलुकले कोरोना संक्रमण र निको हुने दरमा उल्लेख्य प्रगति गरिरहँदा नेपालको अवस्था चिन्ताजनक देखिएको छ। सार्क मुलुकमध्ये नेपालमा सबैभन्दा थोरै संक्रमित निको भएका छन्।
पाकिस्तानमा सबैभन्दा बढी ९३.८ प्रतिशत निको भएका छन्। त्यसपछि क्रमशः भारतमा ९२ र भुटानमा ९१.६, अफगानिस्तानमा ८२.५ र बंगलादेशमा ७९.८ प्रतिशत छ। नेपालमा निको हुने दर ७९.३ प्रतिशत छ। भारतमा सक्रिय संक्रमितको संख्या घटेर ५ लाख ३६ हजारमा झरेको छ। ७६ लाख ५६ हजारभन्दा बढी व्यक्ति निको भई घर फर्किसकेका छन्।
‘कोरोना संक्रमणलाई सामान्य रूपमा लिइयो। सरकार र नागरिक दुवै तहबाट हेलचेक्रयाइँ भयो’, जनस्वास्थ्यविद् डा. बाबुराम मरासिनीले भने, ‘अहिले अरिंगालको गोलामा ढुंगा हानेजस्तो अवस्था हो। अरिंगाल त रिसाएर टोक्दै हिँडेजस्तो संक्रमितहरुले पनि अरूलाई संक्रमण फैलाउन पुगेका छन्।’ डा. मरासिनीले काठमाडौं उपत्यकालगायत सहरी क्षेत्र ‘अरिंगालको गोला’का रूपमा रहेको बताए। लक्षणविहीन संक्रमित पनि गाउँगाउँ पुगेको उनको भनाइ छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मुलुक सक्रिय संक्रमितको संख्या ३६ हजार ९ सय ११ छ। पछिल्लो तीन दिनमा मात्रै ९ हजार ३ सय ५६ जना संक्रमित थपिएका छन्। बुधबार ३ हजार ३ सय ९ जनामा कोरोना पुष्टि भएको छ। कोरोनाबाट पछिल्लो २४ घण्टामा ३० जनाको ज्यान गएको छ।
नेपालमा संक्रमितमध्ये ६७.१ प्रतिशत पुरुष छन्। महिला संक्रमितको संख्या ३२.९ प्रतिशत छ। महाशाखाका अनुसार सक्रिय संक्रमित २०.२ प्रतिशत छ। पीसीआर परीक्षणमध्ये संक्रमणदर १२.३ प्रतिशत छ। प्रवक्ता डा. गौतमका अनुसार पोजिटिभमध्ये मृत्युदर ०.६ प्रतिशत छ। जम्मा मृत्यु प्रति दश लाख (पोजिटिभमा) ३५.४ प्रतिशत छ। अन्नपूर्ण पोस्टमा दिनेश गौतमले खबर लेखेका छन् ।

बाइलाइन नेपाल











