भारतबाट माला आयात नगर्ने फूल व्यवसायीको तयारी

बाइलाइन नेपाल
२० कार्तिक २०७७, बिहीबार ०७:२५

यसपालिको तिहारमा सयपत्री फूलको माग २५ देखि ३० प्रतिशतले घट्ने अनुमान गरिएको छ ।गत वर्षको तिहारमा २९ लाख थान सयपत्री फूलका माला खपत भएकामा यो वर्ष १५–१७ लाख मात्र खपत हुने नेपाल फ्लोरिकल्चर एसोसिएसन (फ्यान) को अनुमान छ । तिहारमा हरेक वर्ष १० देखि १५ प्रतिशत सयपत्री फूलको माग बढ्ने गरे पनि यसपालि त्यस्तो बिक्री हुने अवस्था नरहेको फ्यानका महासचिव विश्वमणि पोखरेलले जानकारी दिए ।

कोभिड–१९ प्रभावका कारण सयपत्री, मखमली र गोदावरी फूलहरूको माग घटेको उनले सुनाए । यो वर्षको तिहारमा भारतबाट फूल आयात नगर्ने र आन्तरिक उत्पादनले बजार माग धान्ने अवस्था रहेको उनको भनाइ छ । यो वर्षको तिहारमा साढे १२ लाख थान सयपत्री फूलको माला, दुई लाख मखमली र १५–२० हजार गोदावरी फूलका माला खपत हुने उनले बताए ।

गत वर्षको तिहारमा १५ करोड रुपैयाँको तयारी फूलको कारोबार थियो । यो वर्ष १३ करोड ६७ लाख ५० हजार रुपैयाँको कारोबार हुने फ्यानको भनाइ छ । यो वर्षको तिहारमा १२ करोड रुपैयाँको सयपत्री, १ करोड रुपैयाँको मखमली र ६७ लाख ५० हजार रुपैयाँको गोदावरीको कारोबार हुने फ्यानको अनुमान छ ।

‘गत वर्ष भारतबाट सात लाख थान माला आयात भएको थियो,’ पोखरेलले भने, ‘यो वर्ष आन्तरिक उत्पादनले धान्छ भन्ने अनुमान छ । अहिलेको समयलाई हेरेर १५ देखि १७ लाख थान माला खपत हुने अनुमान छ ।’ आयातित फूल सरकारको क्वारेन्टाइन भन्सारले रोकेको उनले बताए । काठमाडौं, भक्तपुर, ललितपुर, नुवाकोट, चितवन, पाल्पा, काभ्रेपलाञ्चोक, बारा, कैलाली, दाङलगायत ३२ जिल्लामा उत्पादित सयपत्री, मखमली र गोदावरी फूल बजारमा आउने उनले जानकारी दिए ।

सयपत्री फूलको तयारी माला बजारमा ७०–८० रुपैयाँमा बिक्री हुन्छ । त्यस्तै मखमली प्रतिमाला ५० रुपैयाँ र गोदावरी ३ सय ५० रुपैयाँभन्दा बढी पर्ने व्यवसायी बताउँछन् । ग्राहक आफैंले बनाउन दिएको मिश्रित फूलको माला भने १ हजार रुपैयाँ हाराहारीमा पर्ने फ्यानले जानकारी दिएको छ । ‘सरकारले फूल आयात नगर्ने भने पनि खुला सिमाना भएकाले चोरीको फूल आउन सक्छ । यसले स्वदेशी फूललाई असर पार्छ,’ पोखरेलले भने । आयातित फूल स्वदेशीको तुलनामा सस्तो हुने भएकाले किसानको लगानी डुब्न सक्ने उनको भनाइ छ ।

‘भारतीय मालाको थोक मूल्य २०–३० रुपैयाँ पर्छ । स्वदेशी फूलको लागत नै त्यति हुन्छ,’ उनले भने, ‘भारतीय मालाहरूको उत्पादन लागत नै सस्तो छ । जसले गर्दा हामी प्रतिस्पर्धा गर्न सक्दैनौं ।’ स्वदेशी उत्पादनको प्रयोग बढाउन सरकारले आयातित फूलमा कडाइ गर्नुपर्ने उनले सुनाए । स्वदेशमै फूल उत्पादन लागत घटाउन सरकारले सहज रूपमा मल उपलब्ध गराउनुपर्ने, सिँचाइको व्यवस्था गर्नुपर्ने र स्वदेशी उत्पादनलाई छुट तथा अनुदान दिनुपर्ने पोखरेलले सुझाए । नेपालमा सात सयभन्दा बढी व्यावसायिक फूल खेती गर्ने किसान छन् । जसमध्ये ८० भन्दा बढी सयपत्रीको फूल खेती गर्ने किसान रहेको फ्यानको तथ्यांक छ । कान्तिपुर दैनिकमा नुमा थाम्सुहाङले खबर लेखेकी छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*