चितवनका होटल पुर्याइएका राक्सिराङका ६ चेपाङ किशोरकिशोरीको उद्धार

बाइलाइन नेपाल
१८ कार्तिक २०७७, मंगलवार १८:३६
सांकेतिक फोटो । तस्वीरः गुगल

मकवानपुरको बिकट गाउँका चेपाङ किशोरकिशोरीलाई अनेक प्रलोभन देखाएर चितवनको होटलमा काम गर्न लगिएको पाइएको छ ।राक्सिराङ गाउँपालिका वडा नं ९ राजाराङका ती किशोरकिशोरीहरु विद्यालयमा अध्ययनरत रहेका थिए । पटक पटक गरी ७ जनालाई चितवनको लोथर र पिप्लेस्थित होटलहरुमा कामका लागि लगिएको पाइएको हो ।

इलाका प्रहरी कार्यालय मनहरी राक्सिराङका जनप्रतिनिधि तथा स्थानीय युवाको पहलमा ७ मध्ये ६ जनालाई मंगलबार होटलबाट उद्धार गरी फिर्ता ल्याइएको छ ।कोरोना संक्रमणका कारण विद्यालयहरु बन्द रहेको मौका छोपेर बिचौलियामार्फत ती किशोरकिशोरी होटलमा पुर्याइएका  थिए । त्यसरी बिचौलिया बन्ने राक्सिराङ ९ कै मन्जिल चेपाङलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान थालेको छ । उद्धार गर्न बाँकी अर्की एक किशोरीलाई पनि उद्धार गर्ने प्रयत्न जारी रहेको बताइएको छ ।

इलाका प्रहरी कार्यालय मनहरी, स्थानीय युवा र राक्सिराङ गाउँपालिकाका जनप्रतिनिधिहरुको पहलमा ६ जनालाई उद्धार गरी ल्याइएको इलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरीक्षक विनोद श्रेष्ठले जानकारी दिनुभयो ।

उद्धार गरिएकाहरुमा राक्सिराङ गाउँपालिका वडा नं ९ राजाराङकी १३ बर्षीया निता, १३ बर्षकै रुकु, १५ बर्षकी बुधमाया, १३ बर्षीया सन्चिता रहेकी छन् । त्यसैगरी सोही स्थानका १२/१२ बर्षका बालकहरु सुदीप र समाजलाई पनि उद्धार गरिएको राक्सिराङ गाउँपालिका वडा नं ९ का वडा सदस्य उमेश चेपाङले बताउनुभयो । कतिपय बालबालिका एकैघरका दुईजना समेत रहेको पाइएको छ ।

“बाल मजदुरका रुपमा बालबालिकालाई होटलमा काम गर्न लगिएको रहेछ”, वडा सदस्य चेपाङले भन्नुभयो–“बालश्रमसँगै भारततर्फ समेत लैजान लागेको हल्ला पनि सुनिएकाले तत्कालै एक्सन लिन बाध्य भयौँ ।” उद्धार गरिएका बालबालिकालाई अभिभावकको जिम्मा लगाइने प्रहरी निरीक्षक श्रेष्ठले बताउनुभयो ।

स्थानीय कालिका माध्यमिक विद्यालय र बेथानी नमूना विद्यालयमा अध्ययन गरिरहेका बालबालिकाहरु विद्यालय बन्दको मौका छोपेर बिचौलियाहरुले बालश्रममा लगेर लगाएको पाइएको राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्लले बताउनुभयो ।

राक्सिराङका अधिकाँश चेपाङ बस्तीहरुबाट सहरबजारका धनाढ्य व्यक्तिहरुको घरको काम गर्न र साना बच्चा हुर्काउनका लागि कलिला बालबालिकाहरुलाई प्रयोग गर्ने गरिएको पाइएको छ । खानै नपुग्ने बस्तीका बालबालिकालाई हातमुख जोर्ने मेसो मिलाउनका लागि पनि श्रम गर्नुपर्ने बाध्यता एकातिर छ भने बालबालिकालाई बालश्रमबाट मुक्त गर्नुपर्ने कानूनी प्रावधान अर्काेतिर छ । (उद्धार गरिएकाहरुको उमेर यथार्थ भए पनि नाम काल्पनिक हो ।)-साभारः मनहरीलाइभ डट्कमबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*