नेकपा संकट : नयाँ पार्टीको अध्यक्ष प्रदीप नेपाल ?

बाइलाइन नेपाल
१७ कार्तिक २०७७, सोमबार ०७:५३

खुमलटार भेलामा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा केन्द्रीय सदस्य प्रदीप नेपाललाई पार्टी विभाजनपछि बन्ने नेकपा एमालेको अध्यक्ष बनाउने तयारी रहेको सूचना आफूले पाएको बताएका थिए ।

‘प्रधानमन्त्रीको सल्लाहकार समूहका सदस्यहरूले भेटेर नेपाललाई अध्यक्ष बनाउने र ओली नवगठित एमालेको संरक्षक बन्ने प्रस्ताव गरेका रहेछन्,’ उनले बैठकमा भने, ‘हामीलाई तपाईंले नै उत्पादन गर्नुभएको हो, संगठन विभागको प्रमुख पनि बन्नुभयो, हाम्रो गुरु पनि हुनुहन्छ, अब फेरि सक्रिय हुनुस् भनेछन्, उनीहरू पार्टी फुटाउने पूरै मानसिकतामा छन् ।’

दाहालको कुरा सुनेपछि आफूहरूले पार्टी विभाजनको सबै तयारी भइसकेको रहेछ भन्ने बुझेको बैठकमा सहभागी एक सचिवालय सदस्यले भने । नेता नेपालले भने आफूलाई एमालेको अध्यक्ष बन्न भनेर प्रस्ताव आएको भन्ने कुरामा कुनै सत्यता नभएको बताए ।

‘बरु उनीहरूले प्रधानमन्त्री र माधवकुमार नेपालका बीचमा एकता गराइदिनुपर्‍यो भनेका थिए,’ नेपालले भने, ‘तपाईंले सक्नुभयो भने कन्भिन्स गराउनुहुन्छ, महाधिवेशनमा केपी ओलीलाई जिताउन वामदेवलाई पनि तपाईंले नै मनाउनुभएको हो, माधव नेपाल प्रचण्डतिर लागे एक पटक मनाइदिनुपर्‍यो भनेका थिए, मैले अब कोही पनि बूढाखाडाको काम छैन, युवा नै राजनीतिमा अघि बढ भनेर पठाएको हुँ ।’ नेता नेपाललाई भेट्न लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार राजन भट्टराई र प्रेस सल्लाहकार सूर्य थापा शनिबार दिउँसो उनको घर गोठाटार पुगेका थिए । कान्तिपुर दैनिकमा बिनु सुवेदीले खबर लेखेकी छिन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*