नेपालमा हालसम्म ४ सय बढी पत्रकार कोरोना संक्रमित

बाइलाइन नेपाल
१६ कार्तिक २०७७, आईतवार १६:१४

नेपाल पत्रकार महासंघले हालसम्म कोरोनाका कारण ४ जना पत्रकारको मृत्यु भएको जानकारी दिएको हो । यसैगरी ४ सय बढी पत्रकार संक्रमित भएको महासंघले जनाएको छ ।

उच्च जोखिमका बीच कोरोना संक्रमणको विषयमा नागरिकलाई सुसूचित, सचेत र जागरुक गराउने कार्यमा जुटेका पत्रकारहरुलाई एकातिर कोरोनाको कारण देखाई विभिन्न सञ्चार गृहबाट नियमित पारिश्रमिक नदिने, बेतलवी बिदामा राख्ने, बिनाकारण निष्कासन र सरुवा गर्ने जस्ता क्रम बढिरहेको र अर्कोतिर जोखिमका बीच पनि अग्रभागमा रहेर काम गरेकै कारण पत्रकारहरुमा कोरोना संक्रमण बढिरहेको भन्दै महासंघले चिन्ता व्यक्त गरेको छ ।

‘दोहोरो मारको चपेटा झेलिरहेका पत्रकारहरु संक्रमणको उच्च जोखिमका बीच अग्रभागमा रहेर पेशागत कर्म निर्वाहका क्रममा कोरोना संक्रिमत भई यतिखेर आफ्नै खर्चबाट पीसीआर परीक्षण र उपचार गर्नुपर्ने बाध्यता हाम्रा सामु छ’ आइतबार विज्ञप्ति प्रकाशित गरी महासंघले भनेको छ, ‘यो विषम परिस्थितिमा मन्त्री, सांसद् तथा उच्च पदस्थ सरकारी कर्मचारीहरुलाई राज्यबाट निःशुल्क पीसीआर परीक्षण र उपचार भइरहेको सन्दर्भमा संक्रमणको उच्च जोखिमका बीच फिल्डमा खटिने सञ्चारकर्मी र आम नागरिकहरुको निःशुल्क पीसीआर परीक्षणको व्यवस्थाका साथै उपचाररत सबै संक्रमित पत्रकारसहित सबै नागरिकको उपचारको उचित व्यवस्था गर्न सरकारसँग आग्रह गर्दछ।’

महामारीको यस्तो विषम परिस्थितिमा आफ्नो पेशागत धर्म निर्वाहका क्रममा संवेदनशील भई पूर्वसतर्कताका सम्पूर्ण स्वास्थ्य सुरक्षाका उपायहरु अवलम्बन गर्दै स्वास्थ सुरक्षालाई उच्च प्राथमिकतामा राखेर मात्रै काम गर्न पनि महासंघले आम पत्रकार तथा सञ्चारकर्मीहरुमा अपिल गरेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*