वाग्मती प्रदेशमा प्रहरीविरुद्व एकमहिनामा ६ वटा मात्रै उजुरी

बाइलाइन नेपाल
१४ कार्तिक २०७७, शुक्रबार २०:५१

वाग्मती प्रदेश अन्तर्गतका ३१ वटा स्थानीय तहमा प्रहरी कर्मचारीहरुसँग सम्बन्धित गुनासो तथा सुझाव संकलनको लागि राखिएको गुनासो तथा सुझाव संकलन पेटी खोलेर लिखित गुनासोहरु प्रदेश प्रहरी कार्यालय हेटौंडामा ल्याइएको प्रदेश प्रहरी कार्यालय बागमती, हेटौंडाले जनाएको छ ।

वाग्मती प्रदेश प्रहरी कार्यालय, हेटौंडाले तयार गरेको ‘गुनासो तथा सुझाव पेटिका संचालन सम्बन्धी योजना २०७७’ मा उल्लेखित व्यवस्था अनुसार आम नागरिकबाट प्राप्त भएका सल्लाह, सुझावका साथै गुनासोलाई संकलन गरी प्रदेश प्रहरी कार्यालयमा ल्याईएको प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक सुदिप गिरीले जानकारी दिए ।

उनका अनुसार प्रथम चरणमा सबै महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र सदरमुकाम रहेको गाउँपालिका गरी ३१ वटा स्थानीय तहमा असोज १ गते गुनासो तथा सुझाव संकलन पेटिका राखिएको थियो ।

प्रदेश प्रहरी कार्यालय हेटौंडाका अनुसार मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिकाको कार्यालयमा राखिएको पेटिकाबाट एक र धादिङ जिल्लाको निलकण्ठ नगरपालिकाको कार्यालयमा राखिएको पेटिकाबाट ५ वटा गरी जम्मा ६ वटा गुनासो तथा उजुरी प्राप्त भएको छ । अन्य स्थानीय तहको कार्यालयमा राखिएको पेटिकामा भने कुनै सुझाव तथा गुनासो नरहेको सो कार्यालयले जनाएको छ ।

स्थानीय तहका प्रतिनिधिका साथै स्थानीय प्रहरीको रोहवरमा कात्तिक १ गते उक्त पेटिका खोलेर हेरिएको र प्राप्त लिखित उजुरी तथा गुनासोलाई प्रदेश प्रहरी कार्यालय हेटौंडामा ल्याईएको प्रहरी वरिष्ठ उपरीक्षक गिरीले जनाए ।

प्रदेश प्रहरी कार्यालयमा रहेको गुनासो उजुरी छानविन शाखाले उचित गुनासो तथा सुझावलाई कार्यान्वयन गर्ने र सोको जानकारी सम्बन्धित व्यक्तिलाई गराईनुका साथै प्रदेश प्रहरीको आधिकारीक वेबसाईट मार्फत सार्वजनिकसमेत गरिने उनको भनाइ छ ।

प्रहरी कार्यालयका साथै प्रहरी कर्मचारीहरुबाट सम्पादन भएका काम कारबाहीको सम्बन्धमा आम नागरिकबाट प्राप्त हुने सल्लाह, सुझावका साथै गुनासोलाई उचित सम्बोधन गरी प्राप्त सल्लाह सुझाव अनुरुप प्रहरी सेवालाई परिमार्जन गर्ने उद्देश्यले वाग्मती प्रदेश प्रहरी कार्यालय हेटौंडाले स्थानीय तहसँगको सहकार्यमा गुनासो तथा सुझाव संकलन पेटिका राखेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*