बेनी र कुस्मामा एकसाताका लागि निषेधाज्ञा

बाइलाइन नेपाल
१४ कार्तिक २०७७, शुक्रबार २०:४०

बेनी नगरपालिका क्षेत्रमा एक साताका लागि निषेधाज्ञा लागू गरिएको छ ।लक्षणसहितका कोरोना (भाइरस) संक्रमित भेटिने क्रम बढेपछि जिल्ला प्रशासन कार्यालय म्याग्दीले आजबाट कात्तिक २१ गते १२ बजेसम्मका लागि निषेधाज्ञा लागू गर्ने निर्णय गरेको हो ।

कोरोना संक्रमण थप फैलन नदिन बेनी नगरपालिकाको आग्रह र कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको निर्णय अनुसार बजार बन्द गरिएको प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले जानकारी दिए ।

म्याग्दी उद्योग वाणिज्य संघले पनि भिड नियन्त्रण र जोखिम न्युनिकरणका लागि लकडाउन गर्न आग्रह गरेको थियो ।बेनी नगरपालिका, वडा कार्यालय, सदरमुकामस्थित बैंक, वित्तीय संस्था र सरकारीबाट प्रदान गरिने सेवा बन्द हुने प्रशासनद्वारा जारी सूचनामा उल्लेख छ ।

औषधिबाहेकका पसल खेल्नका लागि बिहान ८ देखि १० बजे (दुई घण्टा) को समय तोकिएको छ ।निषेधाज्ञाको अवधिमा संक्रमित जिल्लाबाट म्याग्दीमा आवतजावत नगरिदिन समेत प्रशासन र नगरपालिकाले आग्रह गरेका छन् ।

सदरमुकाम अवस्थित बेनी नगरपालिका–७, ८ र ९ मा शुक्रबार क्रमश वर्ष ५४, ५५ र २१ का तीन जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय, म्याग्दीले जनाएको छ । स्वास्थ्य अवस्था सामान्य भएका उनीहरु स्थानीय र होम आइसोलेशनमा छन् ।

यसैगरी, कोरोना भाइरस संक्रमित बढेपछि जिल्ला प्रशासन कार्यालय पर्वतले सदरमुकाम कुस्मामा एक साताका लागि निषेधाज्ञा जारी गरेको छ । जिल्ला प्रशासनले सूचना जारी गर्दै सदरमुकाम कुस्मा बजारमा एक हप्तासम्म सरकारी कार्यालय, वित्तीय संस्था र अत्यावश्यकबाहेक सबै पसल बन्द गर्ने निर्णय भएको जनाएको हो ।

शुक्रबार प्रशासकीय अधिकृत विमलप्रसाद गौतमले सूचना जारी गरी कुश्मा नगरपालिका कार्यालय र सदरमुकाम क्षेत्रका ४, ५, ६ र ७ नम्बर वडा कार्यालयबाट प्रदान गरिने सेवा, सदरमुकामका बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने सेवा र अत्यावश्यक बाहेकका पसल कात्तिक १४ गते राति १२ बजेदेखि कात्तिक २१ गते राति १२ बजेसम बन्द गर्ने निर्णय भएको जानकारी दिएका छन् ।

कात्तिक १३ गते बसेको जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र, राजनीतिक दलका प्रतिनिधि र सरोकारवालाको छलफलले उक्त निर्णय गरेको गौतमले बताएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*