पीसीआर परीक्षणविनै फुटबल खेलाडीको प्रशिक्षण सुरु गरिने

बाइलाइन नेपाल
११ कार्तिक २०७७, मंगलवार १२:१७
फाइल तस्वीर

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षण बुधबारबाट सुरु हुँदै छ । बंगलादेशसँगको दुई खेलको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलाका लागि नेपाली टोलीको बन्द प्रशिक्षण सुरु हुन लागेको हो । बन्द प्रशिक्षणमा यसअघि विश्वकप २०२२ तथा एसिया कप छनोटअन्तर्गत दोस्रो चरणको घरेलु खेलका लागि बोलाएका तिनै ३४ खेलाडीलाई मैत्रीपूर्ण खेलका लागि पनि डाकेको छ । बन्द प्रशिक्षणका लागि बोलाइएका सबै खेलाडीलाई बुधबार १२ बजेसम्म अखिल नेपाल फुटबल संघ (एन्फा) को केन्द्रीय कार्यालयमा पुगिसक्नु पर्नेछ ।

दसैँका लागि घर पुगेका फुटबल खेलाडी पुन: प्रशिक्षणका लागि काठमाडौं पुग्‍ने तयारीमा छन् । “विश्वकप छनोटका लागि डाकिएका खेलाडीलाई नै मैत्रीपूर्ण खेलका लागि पनि बोलाएका छौँ,” राष्ट्रिय टोली व्यवस्थापक मधुसूदन उपध्यायले भने, “प्रशिक्षण बुधबारबाट सुरु हुनेछ । तत्काल प्रशिक्षण सुरु हुने भएकाले प्रशिक्षणका क्रममा खेलाडीको पीसीआर परीक्षण गरिने छैन । प्रशिक्षणमा क्रममा कुनै खेलाडीमा त्यस्तो लक्षण देखिए मात्र परीक्षण गरिनेछ ।”

उनले थपे, “टोली मैत्रीपूर्ण खेलका लागि बंगलादेश जानु ७२ घण्टाअघि मात्रै खेलाडीको परीक्षण गरिनेछ । यस्तो अवस्थानमा पीसीआर परीक्षण नेगेटिभ आएका खेलाडी मात्र त्यसतर्फ लाग्‍नेछन् । पोजेटिभ आएका खेलाडी मैत्रीपूर्ण खेल खेल्नबाट रोकिनेछन् ।”

एन्फा कम्प्लेक्स सातदोबाटोमा एक साताको प्रशिक्षणपछि नेपाली फुटबल टोली बंगलादेश जानेछ । बंगलादेश पुगेपछि नेपाली टोली थप एक साता क्‍वारेन्टिनमा बस्‍नेछ । बंगलादेशमा क्‍वारेन्टिनमा बस्‍ने क्रममाः खेलाडीको पुनः पीसीआर परीक्षण गरिने टोली व्यवस्थापक उपाध्यायले जानकारी दिए ।

नेपालले बंगालदेशसँग पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल कात्तिक २८ गते खेल्नेछ । त्यस्तै दोस्रो खेल मंसिर २ गते खेल्ने तय भएको छ । दुवै खेल बंगबन्धु राष्ट्रिय रंगशालामा हुने जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*