चिकित्सक भन्छन्- ‘दसैँ मनाउँदा जनस्वास्थ्यको मापदण्ड नबिर्सौं’

बाइलाइन नेपाल
९ कार्तिक २०७७, आईतवार ०९:५३

जनस्वास्थ्यको मापदण्ड पालना गरेर घरमै दसैँ मनाउनुपर्ने चिकित्सकहरुले बताएका छन् । उनीहरुले अहिलेको विषम् परिस्थितिमा स्वास्थ्यको जोखिम लिन नहुने पनि बताउँदै आएका छन् । “दसैँमा जो जहाँ छ त्यही बसेर मनाऔँ । यदि काठमाडौंबाट गाउँ जानुभएको छ भने ज्‍येष्ठ नागरिकसँग भेट्नुअघि मास्क र सामाजिक दूरी कायम गर्न भुल्न हुँदैन,” शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका चिकित्सक डा. शेरबहादुर पुनले भने ।

टीका लगाउनुअघि राम्रोसँग हात धुनुपर्ने पनि उनले सुझाए । कोरोना संक्रमण बन्द कोठामा सर्ने सम्भावना धेरै हुने हुँदा टीका बरान्डा, हावा लाग्‍ने वा घाम लाग्‍ने स्थानमा बसेर लगाउनुपर्ने उनी बताउँछन् । ‘‘पहिला धेरैजना आफन्त भेला भएर टीका लगाउँथ्यौं । तर अहिले त्यसरी मनाउन हुँदैन,’’ उनले भने, “टीका लगाउँदा दूरी कायम गर्दै अलि टाढाबाट लगाइदिँदा संक्रमणको सम्भावना कम हुन्छ ।”

उनका अनुसार दसैँको टीका र खानपानको भेटघाट एकदमै छिटो बनाउनुपर्छ । साथै जुवा खेल्ने, समूहमा पिङ खेल्ने र भिडमा जान नहुने पनि उनले सुझाए ।होम आइसोलेसनमा बसेका कोरोना संक्रमितले अनिवार्य मास्क लगाउने, हात धुने वा स्यानिटाइजर लगाउनुका साथै दूरी कायम गर्न पनि उनले सबैमा आग्रह गरेका छन् ।

योसँगै दसैँमा एकैपटक धेरै खानेकुरा खाँदा बिरामी हुने सम्भावना पनि रहने भएकाले खानपानमा सतर्कता अपनाउन उनले सर्वसाधारणमा अपिलसमेत गरेका छन् । उनले भने, “खानपानमा ध्यान नदिँदा अन्य समस्या देखिएर अस्पताल भर्ना हुनुपर्ने अवस्था देखिन्छ ।”

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*