दसैं सुरक्षा : घर वा डेरा छाड्दा के गर्ने ?

बाइलाइन नेपाल
७ कार्तिक २०७७, शुक्रबार ०७:३१

तपाईं दसैंमा काठमाडौं उपत्यकाबाट बाहिर जाँदै हुनुहुन्छ ? तपाईंको घर वा डेराको सुरक्षामा शंका छ ? यदि त्यस्तो लाग्छ भने तपाईंले नजिकको प्रहरी कार्यालयमा जानकारी दिएर जानुहोला । तपाईंको घर वा डेराको सुरक्षा नेपाल प्रहरीले गर्छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रहरी प्रमुख डीआईजी विश्वराज पोखरेलले दसैंमा घर वा कोठा छाडेर गाउँ जानेहरूलाई घरको सुरक्षामा शंका लागे प्रहरीलाई जनकारी गराएर जान आग्रह गरेका हुन् ।

‘घर वा डेरामा बहुमूल्य सामान नराख्नुस्, घर वा डेराको सुरक्षामा शंका लागे नजिकको प्रहरी कार्यालयलाई जानकारी गराएर जानुस्,’ महानगरीय प्रहरी कार्यालयका प्रमुख डीआईजी पोखरेलले राजधानीसँग भने । प्रहरीले दसैंलगायतका चाडलाई लक्षित गरी सुरक्षा योजना समेत लागु गरिसकेको छ । दसैंसहितका चाडमा हुन सक्ने सम्भावित घटना रोक्न र सुरक्षाका लागि भन्दै देशभर ४८ हजार ८ सय ३० जना प्रहरी जनशक्ति परिचालनसमेत गरिएको हो ।

डीआईजी पोखरेलले घर छाड्दा सोबारेको सूचना अथवा फोटो सामाजिक सञ्जालमा नराख्नसमेत भनेका छन् । यस्तै, नजिकका वा विश्वासिलो छिमेकीलाई हेरचाहका लागि आग्रह गर्न पनि भनेका छन् ।‘कसैले पनि घर वा डेरा छाडेर अन्यत्र जाँदा सामाजिक सञ्जालमा लेख्ने वा फोटो राख्ने नगरौं, त्यसो गर्दा सुरक्षामा असर पर्छ । बरु नजिकको वा विश्वासिलो छिमेकीलाई हेरचाह गर्न भनौं,’ डीआईजी पोखरेलले भने ।

प्रहरीले सुरक्षा जोखिम मानिएका क्षेत्रमा कुकुर र ड्रोनको समेत प्रयोग गर्ने सुरक्षा योजनामा उल्लेख छ । यसबाहेक हरेक क्षेत्रमा आपतकालीन फोर्ससमेत रहनेछन् । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एसएसपी कुवेर कडायतले हरेक प्रदेशमा डीआईजी र जिल्लामा प्रहरी प्रमुखको नेतृत्वमा कमान्ड फोर्ससमेत राखिएको बताए । सो फोर्सले आपतकालीन अवस्थामा प्रहरी परिचालनको अधिकार राखेको हुन्छ ।
प्रहरीले उपत्यकालाई एक प्रदेश मानेर अन्य सात वटा प्रदेशका लागि खटिने जनशक्ति, संयुक्त चेकिङ र यात्रु सहायता कक्षसमेत राखेको छ ।

उपत्यकामा मात्रै ७ हजार ५ सय ५० जना प्रहरी परिचालन गरिएको छ । यस्तै सादा पोसाक, मोबाइल गस्ती, मोटरसाइकल गस्तीसमेत बढइएको छ । उपत्यकामा ५४ स्थानमा ट्राफिकसहितको संयुक्त चेकिङ हुनेछ । यस्तै २९ स्थानमा यात्रु सहायता कक्ष सञ्चालन गरिएको छ ।प्रदेश १ मा ७ हजार ९ सय २२ जना प्रहरी खटाइएको छ । प्रदेश २ मा ७ हजार ३ सय १० जना, बाग्मती प्रदेशका काठमाडौं, भक्तपुर र ललितपुर जिल्लामा बाहेक ४ हजार १ सय ५३ जना प्रहरी खटाइएको छ ।

यसैगरी, गण्डकी प्रदेशमा ५ हजार ३ सय ३ जना, लुम्बिनी प्रदेशमा ७ हजार ८ सय २५ जना, कर्णाली प्रदेशमा ३ हजार ७ सय १७ जना र सुदूरपश्चिममा ५ हजार ५० प्रहरी परिचालन गरिएको छ । यसरी खटिने प्रहरीहरूले देशभर ४ सय ९० स्थानमा चेकजाँच गर्नेछन् भने २ सय ६४ स्थानमा यात्रु सहायता कक्ष सञ्चालन गरिएको छ । राजधानी दैनिकमा महेश्वर गौतमले खबर लेेखेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*