नवसर्जकलाई सिर्जना सिकाउने अनलाइन साहित्यिक प्रशिक्षणले पूरा गर्यो ५ महिना

बाइलाइन नेपाल
६ कार्तिक २०७७, बिहीबार ११:३९

मकवानपुरे साहित्यिक अभियन्ता एवम् झरना साहित्यिक परिवार मकवानपुरका अध्यक्ष दीपक गाैतमले सुरु गरेकाे “अनलाइन साहित्यिक प्रशिक्षण-२०७७” ले सफलताका साथ पाँच महिना पूरा गरेकाे छ । काेभिड-१९ काे महामारीका कारण जारी लकडाउनकाे समयमा विद्यार्थीहरूमा नकारात्मक भावनाकाे विकास नहाेअाेस् र साे समय सिर्जनात्मक ढङ्गले व्यतीत हाेस् भन्ने उद्देश्यले साहित्यका क्षेत्रमा नवसर्जकहरूका लागि लक्षित गर्दै व्यक्तिगत सक्रियतामा सञ्चालित नि:शुल्क साहित्यिक प्रशिक्षणले दुई चरणमा काव्य विधाअन्तरगतकाे प्रशिक्षण सम्पन्न गरेकाे छ ।

२०७७ जेठ १ गतेदेखि सुरु भएकाे प्रशिक्षणमा पहिलाे चरणमा २२ जना शिक्षक तथा विद्यार्थी एवम् दाेस्राे चरणमा २० जना शिक्षक तथा विद्यार्थीलाई कविता विधाअन्तरगतकाे लाेक छन्द, वार्णिक छन्द, मात्रिक छन्द, बहर (गजलकाे छन्द), गद्य कविता, मुक्तक, हाइकु तथा गीत लेखनकाे सैद्धान्तिक एवम् प्रयाेगात्मक प्रशिक्षण सम्पन्न गरिएकाे प्रशिक्षक एवम् कार्यक्रम संयाेजक दीपक गाैतमले जानकारी गराउनुभयाे । प्रशिक्षणमा अधिकांशत: मकवानपुरका विभिन्न सामुदायिक तथा संस्थागत विद्यालयका शिक्षक तथा विद्यार्थीका साथै मकवानपुरबाहिर काठमाडौँ, धनगढी, भारत तथा जापानबाट समेत विद्यार्थी तथा शिक्षककाे सहभागिता रहेकाे छ ।

प्रशिक्षणपश्चात् नवसर्जकहरूमा कविता विधाअन्तर्गतका लाेक, वार्णिक, मात्रिक छन्दका साथै बहर, गद्य कविता, मुक्तक, हाइकु तथा गीत लेखनमा आशातीत परिष्कार एवम् निखारता आएकाे प्रशिक्षक गाैतमले बताएका छन् । प्रशिक्षित विद्यार्थीहरू जिल्लादेखि राष्ट्रिय स्तरका साहित्यिक कार्यक्रममा सहभागी भएर आफ्नाे दमदार प्रस्तुति दिइरहेका साथै स्थानीय, जिल्ला तथा राष्ट्रियस्तरका प्रतियोगितामा निरन्तर रूपमा प्रथम, द्वितीयलगायत उत्कृष्ट स्थान हासिल गर्दै आएका कारण पनि उक्त साहित्यिक प्रशिक्षण निकै प्रभावकारी भएकाे देखिएकाे छ ।

काव्य विधाकाे समापन हिजाे कात्तिक ५ गते गरिएकाे र दसैँ बिदालगत्तै आख्यान, नाटक, निबन्ध विधाका साथै समीक्षालेखनबारे समेत प्रशिक्षण गराइने प्रशिक्षक गाैतमकाे भनाइ रहेकाे छ । साथै हरेक विधाकाे प्रशिक्षण र प्रयाेगात्मक अभ्यासपश्चात् राष्ट्रियस्तरका विज्ञ साहित्यकारहरूलाई कार्यक्रममा निम्त्याएर रचना वाचन गराउँदै आएकाे र विज्ञहरूबाट समेत उच्च प्रशंसा हुँदै आएकाे र उहाँहरूकै सुझावका आधारमा हरेक विधाकाे सिकाइपछि विधाविशेष संयुक्त कृतिसमेत प्रकाशन गरिनेसमेत गाैतमले बताउनुभयाे ।

काेभिडअघि समेत झरना साहित्यिक परिवार मकवानपुरमार्फत् “सिर्जनशील नयाँ पुस्ता निर्माण अभियान” भन्ने नाराका साथ मकवानपुरका निकटदेखि विकटसम्मका विभिन्न ५० बढी विद्यालयमा पुगेर काव्य प्रशिक्षण तथा बाल साहित्य समिति गठनमार्फत् लेखन तथा पठन संस्कृतिकाे विकास गराउने कार्यकाे नेतृत्व गर्दै आएका गाैतमकाे याे प्रशिक्षणात्मक अभियानले निकै चर्चा प्राप्त गर्दै आएकाे छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*