बडादशैँको आज छैठौँ दिन, कात्ययनी भगवतीको विशेष पूजा

बाइलाइन नेपाल
६ कार्तिक २०७७, बिहीबार ०६:५२

बडादशैँको आज छैठौँ दिन ‘कात्यायनी’ भगवतीको विशेष पूजा गरिदैछ । कात्यायनीलाई साहसको प्रतीक मानिन्छ । आजको दिन दियो, कलश र गणेशको पूजा गरी ‘कात्यायनीको विशेष पूजा गर्नुपर्ने शास्त्रीय मान्यता रहेको छ। यज्ञयज्ञादी दान लगायतका पुण्यकर्म तथा शुभकार्य गर्दा आसुरीवृतिका राक्षसहरुबाट हुने विघ्न बाधा रोक्न देवी कात्यायनीको यस लोकमा आगमन भएको धार्मिक ग्रन्थहरूमा उल्लेख छ।

देवकार्य सिद्ध गर्नका लागि माता भवानी स्वयंम् कात्यायन ऋषिको आश्रममा पैदा भएकी थिइन्। कात्यायन ऋषिकी पुत्री कात्यायनी नामले लोकमा प्रसिद्ध भएकी हुन्। माता कात्यायनीको वदन वर्ण सुन्तला रङको रहेको वर्णन गरिएको छ। उनले हातमा चम्किलो खड्ग धारण गरेकी छन्, उनको यो शस्त्रलाई चन्द्रहास खड्ग भनिन्छ। अतिशक्तिशाली सिंहमा चढेर देवी कात्यायनीले दानवको वध गरेको देवीभागवत लगायतका ग्रन्थमा उल्लेख छ।

कात्यायनी देवीलाई वैज्ञानिक दृष्टिले ब्रह्माण्डीय सम्पूर्ण केन्द्र शक्तिको स्वरूप मानिन्छ । उनलाई विशेष गरी गुलिया परिकार प्रिय रहेकाले विभिन्न प्रकारका मिष्ठान्न अर्पण गर्नुपर्ने मान्यता रहेको छ। यस दिन सात वर्षकी कन्यालाई ‘चण्डिका’ नामले पूजा गरिन्छ र विशेष रूपमा उनलाई अलंकार वा गरगहना चढाइन्छ। दसैंको पहिलो दिन घटस्थापना गरेसँगै नवदूर्गाका ९ वटा रूपको पूजा गरिदैँ आएको छ ।

नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रम्हचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छैठौँ दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गरिन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*