यसवर्षको नवोदय ट्यालेन्ट हन्ट राधा महत्तोले जितिन्
हेटौंडा । हेटौँडा उपमहानगरपालिका–४, कमलडाँडास्थित नवोदय शिशु सदनले कोरोना महामारीको समयमा पनि विविध कार्यक्रमहरू गर्दै आइरहेको छ । विद्यार्थीको सिर्जनात्मकतालाई अभिबृद्धि गर्नका लागि कार्तिक ३ गते सोमबारका दिन सफलतापूर्वक नवोदय ट्यालेन्ट हन्ट–२०२० गरेको छ ।
भर्चुअल मार्फत् विद्यार्थीहरूमा रचनात्मक कला बढाउन, आफ्नो प्रतिभा प्रकट गर्ने अवसर प्रदान गर्न, कोरोनाका कारण सिर्जना भएको एकताबाट भाग्नका लागि विद्यार्थीहरूलाई सहयोग गर्ने उद्देश्य राखेर नवोदयले ट्यालेन्ट हन्ट गरेको कार्यक्रम संयोजक रोसिक श्रेष्ठले जानकारी दिए ।
दर्शक र निर्णयक दुबैको मन जितेर साहित्य तर्फकी राधा कुमारी महत्तोले नवोदय ट्यालेन्ट हन्ट–२०२० को उपाधि हात पार्न सफल भइन् । कार्यक्रममा नृत्य, सङ्गीत, नाटक र साहित्य विधाका प्रस्तुति थिए भने राधाले फाइनलमा साहित्यतर्फ कविता विधा प्रस्तुत गरेकी थिइन् । १ सय ३० सहभागीहरू मध्ये पहिलो चरणको छनौटबाट ४० जना मात्र छनौट भएका थिए । फाइनल सम्म आइपुग्दा भिन्नभिन्न तहका १५ जना प्रतिस्पर्धीहरू कार्यक्रममा संलग्न थिए ।
निर्णायकको भूमिकामा राष्ट्रिय नाच घरका सदस्य, निर्देशन सङ्घका केन्द्रीय सदस्य सुरेन्द्र देसार र कैलाश श्रेष्ठ थिए । ट्यालेन्ट हन्ट बिजेता भोटको आधारमा भएको थियो । ५० प्रतिशत निर्णयक र बाँकी ५० प्रतिशत दर्शकको गरी निर्णय लिइएको थियो ।

बाइलाइन नेपाल











