युनिलिभरका ४० कर्मचारीलाई कोरोना, उद्योग बन्द

बाइलाइन नेपाल
२२ आश्विन २०७७, बिहीबार २०:२५

हेटौँडा उपमहानगरपालिका– ३ स्थित बसामाडीमा सञ्चालनरत बहुर्राष्ट्रिय कम्पनी युनिलिभर नेपाल लिमिटेड उद्योगमा कार्यरत ४० जना कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । एकैपटक ४० जना कर्मचारीलाई संक्रमण पुष्टि भएपछि सात दिनदेखि उद्योग बन्द गरिएको छ । साबुन, सेम्पु, सर्फ, मञ्जनलगायत सरसफाइजन्य सामग्री उत्पादन गर्ने युनिलिभरमा कार्यरत दुई सय ९० जना कर्मचारीले १४ असोजमा पिसिआर परीक्षण गराएका थिए ।

१६ असोजमा ४० जनाको नतिजा पोजेटिभ आएपछि सात दिनदेखि उद्योग पूर्ण रूपमा बन्द गरिएको व्यवस्थापन पक्षले जनाएको छ ।कोरोना पुष्टि हुनेमध्ये २० जना स्थायी कर्मचारी र २० जना ठेकेदार पक्षका कामदार छन् । ठेकेदार पक्षका २० जना कामदारमध्ये १३ जना सुरक्षाकर्मी हुन् । सुरक्षाकर्मीदेखि व्यवस्थापन तहसम्मका कर्मचारीलाई संक्रमण भएपछि उद्योग बन्द गर्न बाध्य भएको एक कर्मचारीले बताए ।

आवश्यक स्वास्थ्य सुरक्षा मापदण्ड पूरा गरेको र समय–समयमा पिसिआर परीक्षणसमेत गर्दै आएको उद्योग व्यवस्थापन पक्षको दाबी छ ।संक्रमितमध्ये अधिकांश होम आइसोलेसन र केही कर्मचारी संस्थागत आइसोलेसनमा बसिरहेका छन् । संक्रमित सबै कर्मचारीको रिपाेर्ट नेगेटिभ आएपछि र बाँकी कर्मचारी सुरक्षित रहेको पक्का भएपछि मात्र उद्योग सुरु गर्ने एक कर्मचारीले जानकारी दिए ।

उद्योगमा मजदुर र कर्मचारी गरी करिब दुई सयजना कामदार कार्यरत छन् । लकडाउनमा पनि करिब दुई महिना बन्द भएको उद्योगले सरसफाइजन्य सामग्री मात्र उत्पादन गर्दै आएको छ । उद्योगले गत वर्ष करिब ६ अर्ब ५० करोड रुपैयाँबराबरको कारोबार गरेको थियो ।-साभारः नयाँपत्रिकाडेली डट्कमबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*