आँचलको भेटघाटमा तिमल्सिनाले सुनाइन् मुक्तक

बाइलाइन नेपाल
१७ आश्विन २०७७, शनिबार १९:४८

हेटौंडा । आँचल साहित्य कला पुञ्ज मकवानपुरको आयोजनामा मुक्तककार भवानी न्यौपाने तिमल्सिनाको मुक्तक वाचन कार्यक्रम आज शनिवारको दिन भर्चुअल माध्यम मार्फत् सम्पन्न भएको छ।आँचल साहित्य कलापुञ्जको मासिक भेटघाट कार्यक्रम अन्र्तगत प्रत्येक महिनाको तेस्रो शनिबार साहित्यिक कार्यक्रम हुँदै आएको छ ।

साहित्यकार उषा शेरचनको प्रमुख आतिथ्य तथा साहित्यकार प्रभा बरालको विशिष्ट आतिथ्यमा सम्पन्न कार्यक्रममा भवानी न्यौपाने तिमल्सिनाका मुक्तकहरू माथि समिक्षा गर्दै मुक्तककार गौरी तमुले लेखेर नै इतिहास रचिने भएको हुँदा लेख्नु पर्ने र त्यसलाई कृतिको रुपमा पाठक सामु ल्याउनु पर्ने कुरामा जोड दिइन् । कार्यक्रममा तिमल्सिनाले १५ वटा मुक्तक वाचन गरेकी थिइन् ।

साहित्यमा साहित्यकारले आफैँसँग प्रतिस्पर्धा गर्नु पर्ने भएकाले लेखनमा साहित्यकारको आफ्नै अनुहार आउनु पर्ने कुरा व्यक्त गर्दै साहित्यकार शेरचनले गृहणी र जागिरे जीवनलाई यथावत सञ्चालन गर्दै मन मस्तिष्कलाई छुन सक्ने साहित्य रचना गर्नु महिलाहरूको लागि चुनौती रहेको कुरा बताइन् । चुनौतीका बीचबाटै सफलता प्राप्ति हुने हुँदा निरन्तर लेखनीमा लाग्न र अध्ययनशील हुन समेत उहाँले अनुरोध गरिन् ।

समालोचक कुमारी लामा, आँचलकी संस्थापक अध्यक्ष मुना अर्याल, गजलकार अम्बिका कार्की, कवि सुमित्रा सुमी, अनिता अर्याल नेपाल, ज्योतसना श्रेष्ठ, एलिजा पुडासैनी, सविता तिमल्सिना, भावना सापकोटा, सिर्जना पौडेल, जयन्ती आचार्य लगाएतले रचना वाचन गरेको कार्यक्रम आँचलकी कार्यवाहक अध्यक्ष अनिता न्यौपानेको अध्यक्षतामा भएको थियो ।

संस्थाकी सचिव भावना सापकोटाले सहजीकरण गरेको कार्यक्रममा सहभागीलाई सहसचिव नीरा शर्माले स्वागत गर्दै कार्यक्रम र आँचलका बारेमा बताएकी थिइन् । विशेषगरी महिला साहित्यकारहरू मात्र उपस्थित हुने सो कार्यक्रम साहित्य लेखनमा लागेका महिलाहरू निर्धक्क भए आफ्नो प्रतिभा प्रस्तुत गर्नका लागि सक्षम बनाउने उद्देश्यले सञ्चालन भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*