यसपर्षको दशैँमा टीकाको साइत बिहान १०ः११ मिनेटमा

बाइलाइन नेपाल
१५ आश्विन २०७७, बिहीबार १९:३६
फाइल तस्वीर

नेपाल पञ्चाङ्ग निर्णायक समितिले दशैँ टीकालगायतको साइत सार्वजनिक गरेको छ । यो बर्षको दशैँ कात्तिक १ गते शनिबारदेखि शुरु हुँदैछ। दुर्गा पक्षसमेत भनिने दशैँको पहिलो दिन वैदिक सनातन धर्मावलम्बीले घरघरमा दियो, कलश र गणेश स्थापना गरी विशेष पूजासहित घटस्थापना गर्छन्।

समितिका अनुसार घटस्थापनाको साइत कात्तिक १ गते शनिबार बिहान ११:४६ बजे शुभ रहेको छ । यस वर्ष घटस्थापनाका दिन चित्रा नक्षत्र परेकाले दोष नाश गर्ने अभिजित् मुहूर्त दिनुपर्दा ११:४६ बजेको साइत निस्किएको समितिले जनाएको छ।

कात्तिक २ गते आइतबार बिहान १०:५३ बजे पश्चिम फर्केर झण्डा फेर्ने साइत दिइएको छ। विशेषगरी नेपाली सेनाले झण्डा फेर्ने गरेको जनाइएको छ। कात्तिक ५ गते बुधबार पचली भैरव यात्राको साइत जुरेको छ। कात्तिक ७ गते शुक्रबार फूलपाती छ। फूलपाती भित्र्याउन साइत आवश्यक पर्दैन।

कात्तिक ८ गते शनिबार महाअष्टमी पर्व मनाइन्छ । यस दिन बलि दिनेले बलिसहित देवीको पूजा आराधना गर्छन्। बेलुकी कालरात्रि मनाइन्छ। कात्तिक ९ गते आइतबार महानवमी पर्व पनि शक्तिपीठमा पूजा आराधना गरी मनाइन्छ।

दशैँको मुख्य दिन कात्तिक १० गते सोमबार विजयादशमी पर्व परेको छ। यस दिन बिहान नौ रात १० दिन पूजा गरिएको स्थलमा देवी विसर्जनका लागि बिहान १०:११ बजेको साइत शुभ रहेको समितिले जनाएकोछ । साइत नै खोजेर टीका लगाउनेका लागि भने बिहान १०:१९ बजेको साइत उत्तम छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*