स्थानीय जनप्रतिनिधिसँग कोभिड १९ सम्बन्धी अन्तरक्रिया
हेटौंडा । रेडियो बुलेटिनले शनिबार स्थानीय जनप्रतिनिधिसँग कोभिड १९ सम्बन्धी अन्तरक्रिया भच्र्युअल माध्यमबाट गरेको छ। बिश्व नै कोभिड १९ ले आक्रान्त पारिरहेको यो बिषम् परिस्थितिमा मकवानपुरमा पनि पछिल्लो समय निरन्तर संक्रमण बढिरहेकोमा हेटौडा उपमहानगरपालिकाले कोभिड १९ को समयमा गरेका कामहरु अझै प्रभावकारी बनाउन के गर्न सकिन्छ भन्ने बिषयमा अन्तरक्रिया गरेको हो ।
शनिबार आयोजित कार्यक्रममा बोल्दै हेटौडा अस्पताल बिकास समिति अध्यक्ष प्रकाश पौडेलले अहिले मकवानपुरमा संक्रमित मध्ये ४३ जनाको अबस्था जटिल रहेको बताउँदै आफुहरु गुनासो नआउने गरी काम गरिरहेको बताए । अहिले नयाँ पिसिआर मेसिन खरिदको प्रकृया अन्तिम चरणमा रहेको बताउँदै उनले त्यसको लागि आफुहरु जनशक्ति व्यवस्थापनमा लागेको उल्लेख गरे ।
यसैगरी कार्यक्रममा बोल्दै हेटौडा उपमहानगरपालिका– ५ का वडा अध्यक्ष राजेश बानियाँले अहिले पनि अस्पतालले भनेजस्तो सेवा दिन नसकेको बताउँदै बिरामीको प्रकृति हेरेर उपचार पाउनुपर्ने बताए । हेटौडा उपमहानगरपालिका–अध्यक्ष अर्जुन चौलागाईले आफुहरु जनताको काममा खटिरहेको भएपनि संस्थागत हिसाबले नभई वडागत मात्रै काम भइरहेकोले संक्रमण घट्न नसकेको बताए । साथै उनले अहिलेसम्म कोभिड १९ ब्यबस्थापन गर्न समितिको प्रस्तावसमेत नआएको बताए ।
यसैगरी हेटौडा उपमहानगरपालिका–१२ का वडा अध्यक्ष ललित घलानले सबैले मिलेर काम गरिरहेको तर अझै प्रभावकारी हुन नससेकोकाले यसलाई कसरी प्रभावकारी बनाउने भनेर सबैले चिन्तन गर्नु आवश्यक रहेको बताए । कार्यापालिका नै समिति भएकोले हेटौडा उपमहानगरपालिकामा कोभिड १९ को बिशेष समिति नबनाएको प्रष्ट पार्दै उहाले सबै वडा अध्यक्षहरु सक्रियतापूर्वक खटिरहनुभएकोले अहिले स्वास्थ्य क्षेत्रमा धेरै सुधार भएको बताए।
यसैगरी थाहा नगरपालिकाका उपप्रमुख खड्ग गोपालीले थाहा नगरपालिकाले अहिले आइशोलेसन वार्ड ,क्वारेन्टिन वार्डलगायतको ब्यबस्थापनमा आफुहरु खटिरहेको बताउदै यसरी यता खटिरहदा जनता भोकै नपरुन् भनेर राहत लगायतको काममा पनि सक्रिय भइरहेको बताए ।
जिल्ला समन्वय समितिका उपप्रमुख भगवती पुडासैनीले सबैको सहयोगमा अहिलेसम्म कोभिड १९ सँगमा लडिरहेको र अझै यो रोगसँग लडेर विजय हासिल गर्न सकिने बताइन् । लकडाउनपछि महिला हिंसाका घटना धेरै भएको बताउँदै उनले त्यसलाई रोक्न नयाँ कदम चाल्नुपर्ने उल्लेख गरिन् । आफुहरुले सबै स्थानीय निकायहरु तथा सम्बन्धित क्षेत्रहरुसग आवश्यक समन्वय गरिरहेको बताउँदै सबै कोभिड १९ को बिरुद्धमा एकजुट भएर अगाडि बढ्नुपर्ने उल्लेख गरिन् ।
कार्यक्रमको समिक्षात्मक टिप्पणी राख्दै अधिबक्ता ध्रुबप्रसाद चौलागाईले अहिले वडाहरुले ब्यहोरेका आर्थिक समस्याहरुको हल गर्दै कोभिड १९ को लक्षण देखिएका बिरामीहरुलाई होम आइसोलेसनमा र लक्षण देखिएका बिरामीहरुलाई आइसोलेसन लानुपर्ने अबस्था आएको बताए । साथै उनले अनुगमनको पाटोलाई बढाउनुपर्ने निस्कर्ष आएको पनि बताए ।
कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख प्रणय कुमार उपाध्याय, हेटौडा अस्पतालका मेसु प्रविण श्रेष्ठ, गौरीटार आइशोलेसनका इन्चार्ज डा सागर काफ्ले, हेटौडा उपमहानगरपालिकाका–अध्यक्ष राजन थापा, वडा नम्बर ८ का वडाअध्यक्ष गोपालबहादुर श्रेष्ठ, वडा नम्बर १० का वडाअध्यक्ष कितासिंह लामा, वडा नम्बर १३ का वडाअध्यक्ष मनोज वाइवा, वडा नम्बर १७ का वडाअध्यक्ष भैरवबहादुर राई, वडा नम्बर ११ का वडासदस्य जुना दाहाल, वडा नम्बर १५ का वडासदस्य कुमारी श्रेष्ठलगायतले पनि कार्यक्रममा धारणा राखेका थिए ।
आगामी दिनमा पनि यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिने रेडियो बुलेटिनका प्रबन्ध निर्देशक अनिकुमार खातीले बताए । प्रबन्ध निर्देशक खातीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण मसान उपासकले गरेका थिए ।

बाइलाइन नेपाल











