घर जाँदै गरेका कोरोना संक्रमित इन्जिनियरको सवारी दुर्घटनामा मृत्यु
हेटौंडा । कोरोना संक्रमण पुष्टिपछि होम आइसोलेसनमा बस्न मोटरसाइलकमा घर चितवनतर्फ जाँदै गरेका इन्जिनियरको सवारी दुर्घटनामा परी मृत्यु भएको छ । जिल्ला आयोजना कार्यान्वयन इकाइ, हेटौंडामा कार्यरत इन्जिनियर दीपेन्द्र अधिकारीकोको शनिबार सवारी दुर्घटनामा परी मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डिएसपी इन्द्रबहादुर रानाका अनुसार उनलाई शुक्रबार कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।
प्रहरीका अनुसार हेटौंडा उपमहानगरपालिका–३ स्थित नेवारपानी र मकवानपुरको पश्चिमी क्षेत्र मनहरी गाउँपालिका–९ रजैयाको सीमाना खरङ्गामा उनी सवार ना ४९ प २४०० नम्बरको मोटरसाइकललाई चितवनबाट हेटौंडातर्फ आउँदै गरेको बा ३ ख ९६६४ नम्बरको मिनीबसले ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए ।
उपचारार्थ हेटौंडा ल्याउने क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकमा कोरोना संक्रमण पुष्टि भएकोले दाहसंस्कारबारे छलफल गर्न उनको परिवारलाई बोलाइएको र नेपाली सेनासँग समन्वय भइरहेको जिल्ला प्रहरी प्रमुख एसपी सुशीलसिंह राठौरले जानकारी दिए ।

बाइलाइन नेपाल











