हेटौंडामा निषेधाज्ञा कायमै, यातायात सुचारु, मदिरा सेवनमा रोक

बाइलाइन नेपाल
१ आश्विन २०७७, बिहीबार ०७:५४
फाइल तस्वीर

हेटौंडा । संघीय सरकारले लामो दुरीका यातायात सञ्चालनमा ल्याउने भएपछि मकवानपुरमा पनि छोटा दुरीका सवारीसाधन असोज १ गतेबाट सञ्चालनमा आएका छन् । जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौंडा उपमहानगरपालिका भित्र जारी गरेको निषेधाज्ञालाई कायम राख्दै थप खुकुलो बनाएको छ ।

प्रशासनले बजार खुल्ने समय एक घण्टा बढाएको छ । हेटौंडामा आज असोज १ गतेदेखि बजार खुल्ने समय एक घण्टा थप गरेको प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले बताए । निषेधाज्ञालाई कायम राख्दै बजार सञ्चालनसहित अन्य कुरामा केही सहज बनाउने निर्णय गरेको उनले जानकारी दिए ।

उनका अनुसार जिल्ला कमान्ड पोष्टको बैठकको निर्णय अनुसार बिहान ९ बजे सम्म खुल्न पाउने खाद्यान्न पसलहरु, डेरी पसलहरुलाई बिहान १० बजेसम्म खोल्न दिने व्यवस्था गरेको प्रजिअ नेपालले जानकारी दिए । यसैगरी, अन्य पसल दिउँसो ४ बजेसम्म खुल्ने भएको छ ।

आजबाट हेटौंडामा निजी सवारीसाधनमा लगाइएकोे जोर बिजोर प्रणाली हटाइएको छ । स्वास्थ्य सुरक्षा विधि अपनाएर होटल तथा रेष्टुरेण्टहरु बिहान १० बजेदेखि ४ बजेसम्म मात्र सञ्चालन गर्ने पाउने जनाइएको छ । होटलहरुमा मदिरा सेवनमा रोक लगाइएको छ । उद्योगहरु तिन सिफ्टमा सञ्चलान गर्नुपर्ने निर्णय गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*