यस्तो छ मुख्यमन्त्री पौडेल परिवर्तनको चर्चा

बाइलाइन नेपाल
September 16th, 2020

हेटौंडा । नेकपाले प्रदेशका मन्त्रिपरिषद् फेरबदलको चर्चा चलाएको धेरै भइसक्यो । मुख्यमन्त्री फेर्ने सन्दर्भमा पार्टी सचिवालयले २०७७ साल साउनमा गठन गरेको महासचिव विष्णु पौडेल नेतृत्वको विवाद समाधान सुझाव कार्यदलको प्रतिवेदनले नपुगेर २६ भदौको स्थायी कमिटीले पनि सर्वसम्मत निर्णय लियो ।

त्यसपछि २९ भदौमा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले जारी गरेको अन्तरपार्टी निर्देशिका (अपानि) मा पनि मुख्यमन्त्री र मन्त्री परिवर्तनको सन्दर्भ उल्लेख छ ।

पार्टीले पटक–पटक निर्णय लिने आन्तरिक छलफल पनि चल्ने तर निर्णय नहुँदा प्रदेश सरकार सञ्चालन भद्रगोल भइरहेको छ । अहिले नेकपाभित्र चलेको चर्चा अनुसार प्रदेश १, बागमती प्रदेश, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशमध्येबाट मुख्यमन्त्री फेरिनेछ । प्रदेश १ मा नेकपाको आन्तरिक विवादका कारण सुरुदेखि नै मुख्यमन्त्री शेरधन राई अप्ठेरोमा छन् ।  बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले निरन्तरता पाउने कि नपाउने भन्ने निर्णयले पनि राईको कार्यकाल निर्धारण हुनेछ । बागमती प्रदेशका मुख्यमन्त्री पौडेल पनि राष्ट्रपति विद्यादेवी भण्डारीकै पहलमा भएका हुन् ।

अघिल्लो दिनसम्म बागमती प्रदेशका मुख्ममन्त्री अष्टलक्ष्मी शाक्य सर्वसम्मत हुने स्थिति थियो । तर, राष्ट्रपति भण्डारीसँगको तिक्त सम्बन्धका कारण रातारात शीतल निवासले पौडेललाई संसदीय दलको नेताको उम्मेदवार बनायो । त्यतिले नपुगेर शाक्य प्यानलका सांसद राजेन्द्र पाण्डेलाई समेत बागी बनाइदिएपछि पौडेल निर्वाचित भए । शीतल निवासको दबाब र प्रभावका कारण आफूले मुख्यमन्त्री हुन नपाएको शाक्यले पटकपटक सञ्चारमाध्यममै भनेकी छन् ।

प्रदेश सांसदमा निर्वाचित भएलगत्तै पौडेल नेता शाक्यको निवासमा पुगेका थिए । पौडेलले त्यतिबेला भनेका थिए, ुमुख्यमन्त्री तपाईं भएपछि भौतिक पूर्वाधारमन्त्री मलाई बनाइदिनोस्, तपाईंको टिममा काम गर्ने इच्छा छ ।ु

तर, पछि शीतल निवासको रणनीतिले शाक्यको मुख्यमन्त्री त चिप्लियो नै मन्त्री खोज्ने पौडेल मुख्य मन्त्री भए । अहिले पनि शाक्यप्रति शीतल निवास र बालुवाटारको नजर सकारात्मक छैन । त्यही कारण नेपाल समूहलाई मुख्यमन्त्री दिनुपर्ने अवस्था आए बरु प्रदेश १ मा राईको सट्टा आचार्यलाई बनाउन सकिने मनशायमा ओलीनिकट रहेको नेकपाका नेताहरू चर्चा गर्छन् । प्रदेश १ मा आचार्यलाई मुख्य मन्त्री बनाउँदा नेता नेपाल मात्र होइन, झलनाथ खनाल पनि राजी हुने अनुमान छ ।

बागमती प्रदेशका मुख्यमन्त्री पौडेलविरुद्ध अधिकांश प्रदेश सांसद देखिएका छन् । अनौपचारिक रूपमा सांसदले पौडेलविरुद्ध हस्ताक्षर अभियान नै चलाएको पनि बताइएको छ । त्यसको प्रत्युत्तरमा मुख्यमन्त्री पौडेलले प्रदेश संसद् विघटन गरिदिने चेतावनी पनि दिएका थिए । तर, पछिल्ला दिनमा भने मुख्यमन्त्री पौडेल ठेक्कापट्टामा बढी ध्यान दिन थालेका छन् ।

भौतिक पूर्वाधारमन्त्री केशव स्थापितलाई हटाएपछि सो मन्त्रालय आफूमातहत ल्याए । पार्टीले तत्काल सुरुङमार्ग र बिजुली बस खरिदसम्बन्धी ठेक्का नलगाउन सुझाव दिएको थियो । त्यसको अटेर गरी मुख्यमन्त्री पौडेलले ठेक्का लगाएको एक सांसद बताउँछन् । शिलापत्र डट्कमबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*