सिन्धुपाल्चोकमा ३ महिनामा २५ बाढीपहिरो

बाइलाइन नेपाल
September 14th, 2020

मनसुन सुरु भएयताका तीन महिनामा सिन्धुपाल्चोकमा बाढी र पहिरोजन्य विपद्का २५ वटा घटना भएका छन् । भूगोलविद् नरेन्द्रराज खनालका अनुसार सिन्धुपाल्चोकमा यो वर्ष पहिरो निम्तिएका सबै स्थान भूकम्पले हल्लाएकै क्षेत्रभित्र पर्छन् ।

शनिबार पहिरो गएको बाह्रबिसेको घुम्थाङ जिल्लामै सबैभन्दा बढी वर्षा हुने क्षेत्र हो । त्यसैले घुम्थाङलाई लुम्ले पनि भन्ने गरिन्छ । नेपाल भूगोल समाजका अध्यक्षसमेत रहेका भूगोलविद् खनालले घुम्थाङमा २०७२ सालको भूकम्पका बेला पनि स–साना धेरै पहिरो गएको बताए । ‘भूकम्पले हल्लाएर कमजोर बनेको भूभागमा भारी वर्षापछि पहिरो निम्तिएको देखिन्छ,’ भूकम्पपछि सिन्धुपाल्चोकका धेरै क्षेत्रको स्थलगत अध्ययन गरेका खनालले कान्तिपुरसँग भने । इन्जिनियरिङ भूगर्भविद् सुबोध ढकालका अनुसार सिन्धुपाल्चोकको भौगर्भिक संरचना कमजोर छ ।

‘पुराना ठूल्ठूला पहिरोले बनाएका तुलनात्मक रूपमा कम भिरालो भागमा धेरैजसो बस्ती बसेका छन्,’ उनले भने, ‘विगतमा आएका पहिरोले ल्याएको ढुंगा, माटोको समिश्रण तुलनात्मक रूपमा कम खँदिलो हुने भएकाले धेरै पानी पर्दा छिट्टै गलेर बग्ने सम्भावना हुन्छ, शनिबारको पहिरो त्यहीभित्र पर्छ ।’

ढकालका अनुसार २०७२ सालको भूकम्पले हल्लाएर भित्री भागसम्मै धाँजा पारेको क्षेत्र भएकाले पनि लगातारको वर्षाले पहिरो निम्त्याएको छ । ‘सतहमा माटो र चट्टानको जोर्नीसमेत रहेको र कतिपय स्थानमा उत्तरबाट कुनै बेला हिमताल विस्फोटपछि आएको बाढीले ल्याएको कम खँदिला ढुंगा, माटोले बनेकाले संवेदनशील देखिन्छ,’ उनले भने, ‘भौगर्भिक सिमाना र जोर्नीहरू अन्य स्थानभन्दा कमजोर हुन्छन् । पानीले यस्तै ठाउँमा आफ्नो बल बढी लगाउनाले पनि धेरै पहिरो जाने गरेको छ ।’

भूगर्भविद्का अनुसार पहिरोका कारण अलि तल्लो सतहमा रहेको चट्टान रगडिने क्रममा ढुंगामा रहेका खनिज पदार्थहरूसमेत पिसिँदा खेतीपातीका लागि आवश्यक लवण र खनिज प्राप्त हुने भएकाले खेतीपाती राम्रो हुन्छ र त्यसले जीविकोपार्जन सजिलो हुन्छ । त्यही कारण सुनकोसी र भोटेकोसी क्षेत्रका अधिकांश बस्ती पुराना पहिरोमाथि बसेका छन् । ‘त्यस्तो भूगोलमा मानवीय क्रियाकलाप बढ्दा पहिरोको जोखिम उत्तिकै हुन्छ,’ ढकालले थपे, ‘पानीले बनाएका सिजनल अथवा स–साना गल्लीहरूकै नजिक बस्ती हुँदा डेब्रिस फ्लोको जोखिम हुन्छ र क्षति हुन्छ ।’

विगतका अध्ययनहरूले बाह्रबिसे क्षेत्र पहिरोजन्य विपद्का हिसाबले जहिल्यै उच्च जोखिममा रहेको देखाएका छन् । उक्त क्षेत्र पहिरो र हिमताल विस्फोटपछि आउने बाढी (जीएलओएफ) का हिसाबले ‘हटस्पट’ समेत हो । भोटेकोसी र सुनकोसी क्षेत्रका सबैजसो बस्ती नदीसँगै जोडिएर बनेकाले अकस्मात् आउने बाढी र पहिरोका हिसाबले जोखिममा रहेको भूगर्भविद् ढकालले बताए । ‘भूगोल नै धेरै भिरालो भए पनि तल्लो क्षेत्रमा बाक्लो बस्ती भएकाले ती क्षेत्र जोखिममा छन्,’ उनले भने, ‘खहरे खोलाकै दायाँबायाँ पनि बस्ती छन्, ती सबै जोखिमयुक्त हुन् ।’

ढकाल एकपटक पहिरो आएर समथर बनेको भाग (डेब्रिजको थुम्को) मा बस्ती बसाउनु नै गलत भएको तर्क गर्छन् । सन् २०१४ मा जुरे क्षेत्रमा भीषण पहिरो गएको थियो । ७० वर्षअघि पनि त्यही क्षेत्रमा पहिरो गएको थियो । ठूलो पहिरो गएको क्षेत्रको भूबनोट जहिल्यै कमजोर हुने र पुनः डेब्रिज आएर क्षति गर्ने उच्च सम्भावना रहने ढकालले बताए ।

३५ वर्षको मनसुनमा भोटेकोसी र सुनकोसी आसपास क्षेत्रमा भीषण पहिरोहरू गएको देखिन्छ । ‘भोटेकोसी र सुनकोसी आसपासको भूबनोट अत्यधिक कमजोर छ,’ भूगर्भविद् मेघराज धितालले भने, ‘यो वर्षको मनसुनमा धेरै वर्षा भएकाले पहिरोजन्य विपद्का घटना बढेको छ ।’ जुरेको भीषण पहिरोपछि विज्ञहरूले उक्त क्षेत्रको भौगर्भिक अध्ययन गरेका थिए । उनीहरूले भोटेकोसी र सुनकोसी जलाधारसहितको समग्र क्षेत्रलाई पहिरोजन्य जोखिमयुक्त भनेर सूचीकरणसमेत गरेका थिए । ‘लगातार वर्षा (क्लाउड ब्रस्ट) भयो भने त्यो क्षेत्रमा पहिरोजन्य विपद्को सम्भावना उच्च हुन्छ,’ धितालले भने, ‘यो वर्ष भीषण वर्षापछि धेरै पहिरोजन्य विपद्का घटना भएको देखिन्छ ।’

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेल भने शनिबार पहिरो गएको क्षेत्र पहिरोजन्य विपद्का हिसाबले कम जोखिमयुक्त भएको तर्क गर्छन् । ‘पहिरोका हिसाबले नसोचेको क्षेत्र हो,’ उनले भने, ‘क्लाउड ब्रस्टका कारण एकाएक भेल पहिरो आएर क्षति गरेको देखिन्छ ।’ यो घटनालाई जलवायुजन्य विपद्सँग जोडेर हेर्नुपर्ने उनको भनाइ छ । पुल्चोक इन्जिनियरिङ कलेजका सहप्राध्यापक भूगर्भविद् वसन्तराज अधिकारीले रूख बिरुवाले पहिरो रोक्न सक्छ भन्ने पुरानो मान्यतालाई यो वर्ष मुलुकका विभिन्न भागमा आएका पहिरोले गलत सावित गरिदिएको विश्लेषण गर्छन् । ‘यो वर्ष धेरै स्थानमा जंगल भएको क्षेत्रबाटै पहिरो सुरु भएको देखिन्छ,’ उनले भने । सिन्धुपाल्चोकको घुम्थाङमा पनि रूख बिरुवा भएकै ठाउँबाट पहिरो सुरु भएको छ । कान्तिपुर दैनिकमा अब्दुल्लाह मियाँले खबर लेखेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*