हेटौँडामा ‘के तपाई आज भोकै हुनुहुन्छ ?’ अभियान

बाइलाइन नेपाल
२० भाद्र २०७७, शनिबार १३:३५

कोरोना महामारीका कारण जनजीवन अस्तव्यस्त छ । विशेषतः श्रमिक तथा विपन्न परिवारलाई कोरोनाको कारण दैनिक गुजारा टार्ने मुस्किल परिरहेको छ । दैनिक ज्यालादारी गरेर पेट पाल्दै आएका श्रमिक परिवार भौतारिएका छन् । यसरी कोरोना महामारीले गर्दा ज्यादा मजदुरी गरेर खाने परिवार समस्यामा परेपछि हेटौँडामा ‘के तपाई आज भोकै हुनुहुन्छ ?’ अभियानअन्तर्गत खाद्यान्न आदनप्रदान कार्यक्रम सञ्चालित छ ।

मदन भण्डारी फाउण्डेशन मकवानपुरले विगत ६ दिनदेखि कार्यक्रम सञ्चालनमा ल्याएको हो । फाउण्डेशनका अनुसार हालसम्म करिब ३ सय परिवारलाई खाद्यान्न सहयोग उपलब्ध गराइएको छ । दैनिक गुजारा चलाउन नसकेर अप्ठ्यारोमा परेका श्रमिक तथा विपन्न परिवारलाई लक्षित गरी सञ्चालित अभियानले हालसम्म दुई सय ८९ परिवारलाई खाद्यान्न प्रदान गरिएको फाउण्डेसनका सदस्य उत्तम शर्मा न्यौपानेले जानकारी दिए ।

हेटौँडा- ४ स्थित कपुर कम्प्लेक्सअघि बसेर अभियानमार्फत गत सोमबार ३०, मंगलबार ५२, बुधबार ७३, बिहीबार ५२, शुक्रबार ८२ जनालाई खाद्यान्न सहयोग गरिएको हो । समस्यामा परेका परिवारलाई बढीमा दुई छाकलाई पुग्ने गरी चामल, दाल, तेल र नून उपलब्ध गराउने गरेको छ । अभियानलाई खाद्यान्न सहयोग पनि प्राप्त हुने गरेको छ ।

फाउण्डेसनले आफ्नै लगानीबाट अभियान सुरु गरेको हो । अभियानमा अहिले थुप्रै व्यक्ति एवम् संघ संस्थाहरूबाट सहयोग प्राप्त हुँदै आएको सदस्य न्यौपानेले बताए । हालसम्म फाउण्डेसनका अध्यक्ष रघुनाथ खुलालले ५ हजार, हेटौँडा- ९ का वडाध्यक्ष लक्ष्मणप्रसाद भण्डारीले २ बोरा चामल, फाउण्डेसनका सदस्य बोलबहादुर कार्कीले २ हजार बराबरको खाद्यान्न, फाउण्डेसनका सचिव आशाकाजी श्रेष्ठले एक बोरा नुन, मुस्लिम युवा समाजले १० बोरा चामल सहयोग गरेको छ ।

सुदर्शन अधिकारीले ५० हजार बराबरको खाद्यान्न, नरहरी महतले ५ हजार बराबरको खाद्यान्न, दीप लामाले ७ हजार बराबरको खाद्यान्न, उपेन्द्र पोखरेलले १ बोरा दाल, सुशीला मल्लले २ बोरा सोयाविन, नेपाल मुस्लिम समाजले १६ हजार बराबरको खाद्यान्न, सुदर्शन ढकालले ४ हजार बराबरको खाद्यान्न, प्रताप विष्टले १ कोरा चामल, गणेश कुमारी प्रधाले २ बोरा चामल सहयोग गरेका छन् ।

फाण्डेसनका अध्यक्ष खुलालले अभियानलाई थप व्यवस्थित गर्दै खाद्यान्न सहयोगको दायरा बढाउँदै लैजाने बताए । हेटौँडामा फाण्डेशनल खाद्यान्न आदनप्रदान कार्यक्रमको सुरुवात गरेपछि अन्य संस्थाहरूले अभियानलाई अनुसरण गर्दै आएका छन् । हाल यहाँका थुप्रै स्थानबाट श्रमिक तथा विपन्न परिवारलाई खाद्यन्न प्रदान गरिँदै आएको छ । -शिलापत्र डटकमबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*