बुधबार सोह्र श्राद्ध सुरू, भर्चुअल माध्यमबाट हुने श्राद्धमा विधी नपुग्ने विज्ञको भनाइ
आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा गरिने सोह्र श्राद्ध यस वर्ष यही भदौ १७ गते बुधबार सुरू हुदैछ ।सोह्र श्राद्धमा दिवंगत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गर्ने शास्त्रीय परम्परा छ । यस वर्ष विश्वव्यापी रुपमा कोरोना भाइरसको सङ्क्रमण फैलिएकाले प्रशासनले सतर्कता अपनाउ आग्रह गर्दै आएको छ ।
कोरोनाबाट बच्न भौतिक दूरी कायम गर्नुपर्ने भएकाले हाल काठमाडौँ उपत्यका लगायतका ४९ वटा जिल्लामा निषेधाज्ञा छ । सबैतिर ब्राह्मण अर्थात् पुरोहित जजमान (श्राद्धकर्ता) का घरमा जान सक्ने वातावरण छैन । ब्राह्यमण नै नआउने भएपछि दिवंगत पितृको नाममा के गर्ने भन्ने चिन्ता पनि जजमानहरूमा छाएको छ ।
केही स्थानीय तहले श्राद्ध विद्युतीय रुपमा गर्न, घरमा पुरोहित नबोलाउन भनी सार्वजनिक रुपमा सूचना समेत जारी गरेका छन् । तर, धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा.डा रामचन्द्र गौतम विद्युतीय माध्यमबाट श्राद्ध गराउन गरिएको आह्वान शास्त्रसम्मत नभएको बताउँछन् । शास्त्रीय मान्यता अनुसार मरणपछि गरिने काजक्रिया र सोह्रश्राद्ध रोक्न नमिल्ने उनले बताए ।
जजमानलाई विधि ज्ञात भएको खण्डमा भाञ्जा, ज्वाइँ लगायतलाई राखेर श्राद्ध गर्न सकिने बताउँछन् । तर, विद्युतीय माध्यमबाट श्राद्ध गर्न कुश कसरी बनाउने, कुशबाट बनाइने पवित्र, मोटक, कुशबाटै प्रतिकका रूपमा बनाइने ऋषि कसरी बनाउनेजस्ता समस्या आइल्ने उनले बताए ।
कारणवश श्राद्ध रोकिँदा शास्त्रमा अनेक विकल्प दिइएका छन् । सोह्र श्राद्ध कर्ताले आफ्ना पिताको तिथिमा गर्नुपर्ने विधान छ । आपत् धर्म अनुसार कुनै कारणवश अड्किएमा आश्विन कृष्ण औँसीदेखि आश्विन शुक्ल पञ्चमीसम्म गर्न हुने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद् प्रा.डा गौतमले बताए ।
भदौको पितृपक्ष अर्थात् सोह्र श्राद्धमा कोरोनाकै कारण श्राद्ध गर्न नसक्नेले कात्तिक १ देखि ५ गतेसम्म पनि गर्न शास्त्रसम्मत् हुने उनले सुझाए ।सोह्र श्राद्ध गर्न चारदेखि पाँच घण्टा लाग्ने भएकाले विद्युत् सूर्योदय र सूर्यास्तकाबीच जस्तो बत्ती २४ सै घण्टा नहुने भएकाले भर्चुअल माध्यमबाट गराइने सोह्र श्राद्धको विधि पूरा नहुने कतिपय विज्ञहरूले बताएका छन् ।

बाइलाइन नेपाल











