मकवानपुरमा ३६ जना प्रहरीलाई कोरोना संक्रमण
हेटौंडा । मकवानपुरमा कार्यरत प्रहरीलाई पनि कोरोना संक्रमण बढ्दै गएको छ । मकवानपुरमा हालसम्म ३६ जना प्रहरीलाई कोरोना संक्रमण भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सुशीलसिं राठौरले जानकारी दिए ।
दैनिकजसो प्रहरीलाई संक्रमण हुन थालेपछि समस्या हुन थालेको राठौरले बताए । जिल्लामा कार्यरत प्रहरीलाई कोरोना संक्रमण भएपछि व्यवस्थापनमा कठिनाइ पर्न थालेको उनले जानकारी दिए । हालसम्म हेटौंडा उपमहानगरपालिका भित्रका प्रहरी कार्यालयमा कार्यरतलाई धेरै कोरोना संक्रमण भएको प्रहरी उपरीक्षक राठौरले बताए ।
यसैगरी हेटौंडामा कार्यरत सात जना प्रहरी कोरोनामुक्त भएर डिस्चार्ज भएका छन् । संक्रमित भएपछि हेटौंडा–१०, बसपार्क बिटमा कार्यरत प्रहरी हेटौंडा–६, गौरीटार र हेटौंडा–४, कर्राको आइसोलेसनमा रहेका थिए ।
हेटौंडा–१० मा रहेको किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रको प्रादेशिक प्रयोगशलामा गरिएको स्वाब परीक्षणमा बसपार्क प्रहरी बिटअन्तर्गत् कार्यरत् सबै प्रहरीको कोरोना पुष्टि भएपछि आइसोलेसनमा थिए । सोही क्रममा फलोअप रिपोर्ट नेगेटिभ आएपछि उनीहरू आइसोलेसनबाट डिस्चार्ज गरिएको हेटौंडा आइसोलेसन वार्डका इञ्चार्ज भोला चौलागाईंले जानकारी दिए ।

बाइलाइन नेपाल











