तीन मन्त्री र प्रधानसेनापति क्वारेन्टाइनमा
छाउनीस्थित नेपाली सेनाको हाताभित्र रहेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को सचिवालयमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण देखिएपछि तीन मन्त्री र प्रधानसेनापति होम क्वारेन्टाइनमा बसेका छन् ।
केही दिनअघि सीसीएमसीको बैठकमा सहभागी उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल, प्रधानसेनापति पूर्णचन्द्र थापा र सचिव महेन्द्र गुरागाईं होम क्वारेन्टाइनमा बसेका हुन् ।
सीसीएमसीको सचिवालयमा गत आइतबार कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका विषयमा साढे दुई घण्टा छलफल भएको थियो । त्यहाँ सहभागी सीसीएमसीका कर्मचारी नै संक्रमित भएका हुन् ।
मन्त्रीसहित प्रधानसेनापति, सचिव र अन्य कर्मचारीको पीसीआर परीक्षण गरिएको छ । सत्तारूढ दल नेकपाका सचिवालय सदस्यसमेत रहेका पोखरेल र थापा क्वारेन्टाइनमा बसेसँगै नेकपाको शनिबार बस्ने सचिवालय बैठक पनि स्थगित भएको छ ।
सीसीएमसी सचिवालयका संयोजक तथा प्रधानमन्त्री कार्यालयका सचिव गुरागाईंका अनुसार सैनिक कर्मचारीमा संक्रमण देखिएको हो । कान्तिपुर दैनिकमा खबर छ ।

बाइलाइन नेपाल











