अष्टलक्ष्मी भन्छिन् : मुख्यमन्त्री बन्ने ‘अफर’ हल्ला मात्र

बाइलाइन नेपाल
६ भाद्र २०७७, शनिबार १६:१७
अष्टलक्ष्मी शाक्य

सतारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा विद्यमान आन्तरिक विवादको समाधानका लागि प्रदेश सरकार परिवर्तन हुन सक्ने चर्चा चुलिएको छ । पार्टीभित्रको लामो विवाद सुल्झाउन अहिले प्रदेशका मुख्यमन्त्रीदेखि संघीय सरकारका मन्त्रीसम्म हेरफेरको चर्चा चलेको हो । संघसहित प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्री हेरफेर हुन सक्ने आंकलन पार्टी नेता तथा सांसदले गर्दै आइरहेका छन् । शीर्ष नेतृत्वबीच शक्ति बाँडफाँडको कुरा नमिल्दा पार्टीमा विवाद सुरु भएको नेताहरूको बुझाइ छ ।

नेकपाका एक केन्द्रीय ससदस्यले शिलापत्रसँगको कुराकानीमा प्रदेश १, बागमती प्रदेश र प्रदेश ५ सरकार परिवर्तनको कसरत भइरहेको जानकारी दिए । ‘विवाद मिलाउन संघदेखि प्रदेश सरकारका मन्त्रीहरू हेरफर हुनेछ । प्रदेश १, बागमती र प्रदेश ५ मा सरकार परिवर्तन हुन सक्छ । तर, यस विषयमा कुनै सहमति भने भइसकेको छैन्’, प्रतिनिधिसभा सांसदसमेत रहेका उनले भने ।

बागमती प्रदेशका १ प्रदेशसभा सदस्यले पनि विवाद मिल्ने चरणमा मन्त्री परिवर्तनका कुरामा सहमती हुन सक्ने बताए । बागमती प्रदेशमा सरकार गठनको सुरुवाती चरणदेखि नै नेकपाभित्र किचलो छ । प्रदेशमा नेकपा संसदीय दलभित्र बेलाबेलामा मुख्यमन्त्री डोरमणि पौडेललेका राजीनामा माग हुँदै आएको छ । नेकपाभित्रको विवाद टुंग्याउने सूत्रको खोजीको लागि गठन गरिएको कार्यदलले प्रारम्भिक प्रतिवेदन तयार पार्दै अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाललाई बुझाएपछि बागमती प्रदेश सरकार परिवर्तनको चर्चा सतहमा आएको छ ।

पार्टी स्थायी कमिटी सदस्यसमेत रहेकी नेकपा प्रदेश इञ्चार्ज अष्टलक्ष्मी शाक्यलाई मन्त्री बन्न आएको ‘अफर’ले प्रदेशमा नयाँ तरंक नै ल्याएको छ । बागमती प्रदेशसभा सदस्य शाक्य बागमतीको मुख्यमन्त्री बन्ने दौडमा भने थिइन् । प्रदेश संसदीय दलको नेताको लागि भएको मतदानमा हालका मुख्यमन्त्री पौडेलसँग पराजित भएपछि उनको यात्रा बीचमै रोकिएको थियो ।

अहिले प्रदेशको राजनीतिक वृतमा मुख्यमन्त्रीबाट पौडेललाई हटाएर शाक्यलाई ल्याउने पार्टी शीर्ष नेतृत्वबीच छलफल भएको कुरा ‘गसिप’ नै बनेको छ । यद्यपि, शाक्यले पनि आफूलाई मुख्यमन्त्री बन्ने अफर आएको विषय हल्ला मात्र भएको बताएकी छिन् । ‘मलाई अफर कतैबाट आएको छैन् । बरु मुख्यमन्त्रन्त्रीबाट पौडेललाई हटाउने कुरा चाँही थियो’, शाक्यले भनिन् ।

पार्टीको विवाद समाधानको लागि प्रदेश १ र बागमती प्रदेश सरकार हेरफेर गर्ने विषय उठेको शाक्यले बताइन् । ‘विवाद मिलाउन कार्यलदले प्रतिवेदन नै बुझाइसकेको छ । तर, सबै कुराबाहिर आएका छैनन् । कार्यदलले कसरी सुझाव दिन्छ त्यसरी नै अगाडि बढ्ने हो । छलफल भएअनुसार प्रदेश १ र बागमतीमा हेरफेर गर्ने कुरा चाँही थियो,’ शाक्यले भनिन् ।

उनले आफूलाई मुख्यमन्त्री बन्न अफर आएको भन्ने समाचारप्रति सत्यता नभएको बताइन् । ‘केही मिडियाहरूले मन्त्री बन्न नेताहरूले फोन गरेको भनेर समाचार बनाएछन् । त्यसमा कुनै सत्यता छैन् । मलाई कसैले र कतैबाट पनि मन्त्री बन्ने अफर आएको छैन् । विवाद समाधानका लागि जे सहमती हुन्छ सोहीअनुसार अगाडि बढ्छौँ,’ शाक्य भन्छिन् ।–नवीन तिमल्सिनाले शिलापत्रमा लेखेको समाचार साभार ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*