हेटौंडा सिमेन्ट करोडौं घाटामा
सरकारी स्वामित्वको हेटौंडा सिमेन्ट मेसिन खराबीको कारण दुई वर्षदेखि घाटामा चल्दै आएको छ । झन् कोरोना महामारीले उद्योगलाई शिथिल बनाएको छ । सरकारी स्वामित्वमा रहेका देशका अधिकांश उद्योगहरु धरासायी भइरहेका छन् । सरकारी बेवास्ताका कारण हेटौंडा औद्योगिक क्षेत्रभित्र रहेका कपडा उद्योगदेखि धेरै पुराना उद्योगहरुको अस्थिपञ्जर मात्रै बाँकी छ ।
अब विगतका उद्योगहरुले भोगेको नियती हेटौँडा सिमेन्ट उद्योगले पनि भोग्न थालेको छ । हेटौँडा सिमेन्टको क्षमता विस्तार गर्ने योजना पनि कागजमै सीमित छ ।सरकारी सिमेन्ट उद्योग विगत २ वर्षदेखि निरन्तर घाटामा गइरहेको छ । केही वर्ष नाफामा गएको हेटौंडा सिमेन्टले आर्थिक वर्ष २०७५/७६ र ०७६/७७ मा करोडौं घाटा व्यहोरेको हो । आर्थिक वर्ष २०७२/७३ देखि निरन्तर नाफामा गइरहेको सिमेन्ट उद्योग आव २०७५/०७६ मा मेसिनमा खराबीका कारण लामो समय बन्द हुँदा घाटामा गएको थियो ।
आव ०७५/०७६ मा उद्योगले करिब १ करोड ५ लाख रुपैयाँ घाटा व्येहोरेको उद्योगको लेखा परीक्षणबाट देखिएको छ । आर्थिक वर्ष २०७६/७७ मा उद्योगले झण्डै ५ करोड रुपैयाँ घाटा व्येहोर्ने अनुमान छ । सञ्चालक समितिको अध्यक्ष पद खाली हुँदा आन्तरिक लेखा परीक्षण स्वीकृत गरी महालेखा कार्यालयमा बुझाउन सकिएको छैन । २८ कात्र्तिक २०७६ देखि सञ्चालक समिति अध्यक्ष पद रिक्त छ ।
२०७६ साल वैशाखदेखि असारसम्म उद्योगका मेसिनमा खराबीको कारण मात्र तीनपटक उद्योग बन्द भएको थियो । जसका कारण त्यसवर्ष उद्योगले घाटा ब्यहोरेको हो । उद्योगमा रहेका मेसिनहरु पुराना भएपछि कार्य क्षमतामा ह्रास आएका कारण उत्पादन लागत बढी भएको भन्दै उद्योगले क्षमता विस्तार गर्ने लक्ष्य राखेको छ ।
तर, उद्योगको लक्ष्यलाई सरकारकै साथ छैन । आधुनिक मेसिन जडान गरी काम गर्दा सिमेन्टको उत्पादन लागत कम हुने र अन्य सिमेन्टसँग बजारमूल्यमा प्रतिष्पर्धा गर्न सकिने उद्योगको निष्कर्ष छ । उद्योगले दैनिक तीन हजार मेट्रिकटन क्षमता विस्तार गर्नको लागि यसअघि नै प्रस्तावपत्र समेत पेश गरिसकेको छ ।
मातृका यादव उद्योगमन्त्री हुँदा प्रस्ताव माग गरिए पनि लेखराज भट्ट नयाँ उद्योग मन्त्री भएर आएयता उद्योगको क्षमता वृद्धि गर्नेबारे छलफल भएको छैन । नयाँ उद्योग मन्त्रीले चासो नदिँदा उद्योगले बनाएको प्रस्तावपत्र पनि उद्योगमै थन्किएको छ । उद्योगको क्षमता विस्तार गर्न सरकार उदासिन हुँदा हेटौँडा सिमेन्ट धरासायी बन्दै गइरहेको छ ।
२०४३ सालबाट व्यावसायिक उत्पादन सुरु गरेको उद्योगका धेरै मेसिनहरु पुराना भएका कारण उत्पादनमा ह्रास आउँदा उत्पादन लागत बढी हुने गरेको छ । जसका कारण निजी सिमेन्ट उद्योगसँग मूल्यमा प्रतिष्पर्धा गर्न सकिरहेको छैन । उद्योगले उत्पादन गरेको सिमेन्टको बजारसँगै बिक्री पनि घट्दै गएको छ । उद्योगको उत्पादनको बिक्रीमा आएको ह्रासले उद्योग थप आर्थिक जोखिम र सङ्कटमा पर्ने देखिएको छ ।
कोरोना महामारीको कारण सिमेन्ट बिक्री हुन नसकेको र उत्पादनमा पनि ह्रास आएकाले उद्योग गत वर्ष घाटामा गएको उद्योगका महाप्रबन्धक प्रेमशंकर सिंहले बताए । ‘उत्पादन र बिक्रीको अवस्था हेर्दा उद्योग गत आर्थिक वर्षमा पनि घाटामै छ । कोरोनाको प्रभावका कारण सिमेन्ट बिक्रीमा निकै गिरावट आएकाले नै हामीले उद्योगलाई घाटाबाट बचाउन सकेनौं,’ सिंहले भने ।
उद्योगले गत आर्थिक वर्ष २०७६/७७ मा १९ लाख बोरा सिमेन्ट र क्लिङ्कर उत्पादन गरेकोमा १४ लाख ५५ हजार ९ सय ६ बोरा मात्रै सिमेन्ट बिक्री गरेको उद्योगको बिक्री महाशाखाको तथ्यांकमा उल्लेख छ । कोरोनाका कारण मुख्य सिजन चैत, वैशाख, जेठ र असारमा सिमेन्ट बिक्री हुन नसक्दा आर्थिक वर्षको अन्त्यसम्ममा उद्योगमा झण्डै ४ लाख बोरा सिमेन्ट स्टक रहेको थियो ।
उद्योगले अघिल्लो आर्थिक वर्ष २०७५/७६ मा झण्डै २३ लाख बोरा सिमेन्ट उत्पादन गरेकोमा २० लाख ८६ हजार ६ सय ८ बोरा बिक्री गर्न सफल भएको थियो । त्यसवर्ष उद्योगले १ करोडको हाराहारीमा मात्र घाटा व्येहोरेकोमा गत वर्ष २०७६÷७७ मा उत्पादन र बिक्रीमा झनै कमी भएपछि घाटाको आँकलन ५ करोड पुगेको उद्योग प्रशासनले जनाएको छ ।
उद्योगका महाप्रबन्धक सिंहले कोरोनाका प्रभाव हटेपछि पनि उद्योगको क्षमता विस्तारबिना नाफामा लैजान कठिन हुने बताए । आर्थिक वर्ष २०७२/७३ मा ३० करोड रुपैयाँ नाफा गर्न सफल भएको उद्योगले आब २०७३/०७४ मा २२ करोड रुपैयाँ, २०७४/७५ मा २३ करोड रुपैयाँ नाफा गरेको थियो ।
२०७२ सालमा उद्योगको सञ्चालक समितिको अध्यक्षमा नियुक्त भएका रघुरमण न्यौपानेको कार्यकालभर उद्योगले निरन्तर नाफा गरेको थियो । उनको २०७६ कात्तिक २८ गतेबाट ३ वर्षे कार्यकाल सकिएको थियो । ‘म अध्यक्ष हुँदा धेरै प्रलोभनहरु आए, यी सबैलाई पन्छाएर मैले निस्वार्थ भावले काम गरेको थिएँ । त्यसैले नाफामा गएको थियो,’ न्यौपाने भन्छन् । –साभारः शिलापत्र डटकममा नवीन तिमल्सिनाले लेखेको समाचार ।

बाइलाइन नेपाल











