जसले ११ दिन बित्दा पनि पाएनन् कोरोना परीक्षणको रिपोर्ट

बाइलाइन नेपाल
४ भाद्र २०७७, बिहीबार ०७:०२

कोरोना परीक्षणका लागि स्वाब दिएका काठमाडौंका २९ वर्षे युवकले आफू संक्रमित रहेको अनौपचारिक रूपमा थाहा पाए । तर ११ दिन बित्दा पनि अस्पतालको रिपोर्ट पाएका छैनन् । लक्षण महसुस भएपछि उनले त्रिवि शिक्षण अस्पतालमा पीसीआरका लागि स्वाब दिएका थिए । रिपोर्ट नआउँदा सम्पर्कमा रहेकाहरूको कन्ट्याक्ट ट्रेसिङ त भएको छैन नै, उनले कोरोना बिमा दाबी गर्न पनि पाएका छैनन् । ‘रिपोर्ट दिनुपर्‍यो’ भनेर अस्पताल, स्वास्थ्य सेवा विभाग र स्वास्थ्य मन्त्रालयसम्म पुगे पनि पाएका छैनन् । आफ्नो छटपटी उनले यसरी बताए :

१७ दिनअघि व्यक्तिगत कामले बुटवल गएको थिएँ । त्यहाँ कोरोना संक्रमित आफन्तको दाहसंस्कारमा सहभागी हुनुपर्‍यो । फर्केर काठमाडौं आएपछि मैले भेटघाट गरेको व्यक्तिको पीसीआर पोजिटिभ आयो भन्ने खबर पाएँ । मलाई कोरोनाजस्तै लक्षण देखिन थालिसकेको थियो । पहिलेदेखि दमको समस्या भएकाले रोगले चाँडै समात्यो कि ? ज्वरो आउने, छाती दुख्ने, खानामा रुचि नहुने, पखाला लाग्ने भइरह्यो ।

म संक्रमित भइसकें भन्नेमा मलाई शंका थिएन । स्वाब परीक्षण गर्न साउन २५ गते महाराजगन्जस्थित टिचिङ अस्पताल पुगें । आफूलाई लक्षण देखिएको र कन्ट्याक्ट ट्रेसिङमा पनि परेको बताएँ । सरकारी नियमअनुसार पीसीआर परीक्षणका लागि ५५ सय तिर्नुपर्छ भन्ने थाहा थियो । तर, ‘त्यति पैसाले परीक्षण हुँदैन थप कीट किन्नुपर्छ’ भने । तनाव र ज्वरोको सुरमा थिएँ, विवाद गर्न मन लागेन । थप तीन सय ७५ पनि तिरें । ‘दुई दिनपछि रिपोर्ट आउँछ लिन आउनुस्’ भने, म फर्किएँ ।

संक्रमित भइसकेको ठानेर आफैं अस्पताल पुगेर रिपोर्ट लिन डर लाग्यो, अरूलाई सर्न सक्छ भन्ने सोचें । चिनजानको एउटा भाइलाई रिपोर्ट ल्याइदिन भनें । अस्पतालले उसलाई रिपोर्ट दिन मानेनछ । ईडीसीडी (इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा) बाट ‘आफैं फोन आउँछ, रिपोर्ट दिन मिल्दैन’ भनिएको रहेछ । तैपनि रिपोर्ट के छ बुझौं भनेर मात्रै अस्पतालमै फोन गरें । मलाई पनि ‘भन्न मिल्दैन, फोन आउँछ’ भन्ने प्रतिक्रिया दिए । दुई दिन कुरें, कतैबाट फोन आएन । रोगको लक्षणका कारण मेरो समस्या बढ्दो थियो । फेरि ईडीसीडीमा फोन गरें ।

मेरो नामको कुनै रिपोर्ट त्यहाँ नभएको खबर दिए । अस्पताल रिपोर्ट ईडीसीडीमा पठाएको भन्छ, ईडीसीडीले आएकै छैन भन्छ । वडामा भनूँ भने संक्रमित मान्छे घरबाट निस्कन मिलेन । मसँगै बसेकी श्रीमतीलाई पनि पठाउन मिलेन । कतिसम्म लापरबाही हुँदो रहेछ, आफूलाई परेपछि थाहा भयो ।

म्रो परिवार र नजिकका आफन्त गरेर २० जना कोरोना संक्रमित भइसक्यौं । आमा संक्रमणले थलिएर बुटवलकै अस्पतालको आईसीयूमा भर्ना हुनुहुन्छ । भाइबुहारी उतै सरकारी अस्पतालको आइसोलेसनमा छन् । मैले कोरोना बिमा गरेको थिएँ । बिमा दाबीका लागि रिपोर्ट चाहिन्थ्यो । म पूरै लक्षणहित बिरामी हुँदा सरकारले दिने भनेको निःशुल्क उपचार पाइनँ । न त बिमा दाबी गर्न पाएँ । अस्पतालमा चिनेको मान्छेलाई मेरो रिपोर्ट बुझ्न लगाएँ, ‘पोजिटिभ छ’ भनेर फोन राखिदिए । चिनेका मान्छेलाई भनेर स्वास्थ्य मन्त्रालयसम्म यसबारे बुझ्न लगाएँ । कतैबाट केही पत्ता लागेन ।

म संक्रमणले शिथिल भएर घरमा सुतेको छु । यसबीच भेटेका मान्छेको ट्रेसिङ हुन सकेको छैन । पैसा तिरेर परीक्षण गराएको रिपोर्ट लिनका लागि पनि मैले विभिन्न शक्ति केन्द्रमा फोन लगाउनुपर्ने ? के सबैले यस्तो गर्न सक्छन् होला ? घरमा श्रीमती छिन्, उनी स्वास्थ्यकर्मी हुन्, मेरो हेरचाहमा लागेकी छन् । अक्सिजनसमेत घरमै ल्याएको छु । उनकै स्वास्थ्य जोखिममा छ । अस्पताल बस्न मसँग रिपोर्ट छैन । रिपोर्ट कुर्दाकुर्दै अब त लक्षण पनि हराएर जान थालेको छ । कतिसम्म खेलबाड गर्न सकेको होला राज्यले ? म बसेको वडामा ४० जना संक्रमित छन् । यहाँ ट्रेसिङ गर्न पनि त्यति गाह्रो छैन । त्यही पनि ट्रेसिङको काम प्रभावकारी छैन । लक्षण हराएर दोस्रो पटक परीक्षण गर्ने बेला भइसक्यो, पहिलो रिपोर्ट कहिले दिने हुन्, थाहा छैन ।’

संक्रमित युवकको कुरा सुनिसकेपछि यस विषयमा हामीले त्रिवि शिक्षण अस्पतालका निर्देशक डा. रोहित पोखरेलसँग प्रतिक्रिया लिएका थियौं । उनले रिपोर्ट पोजिटिभ आएमात्र ईडीसीडीमा पठाउने गरेको बताए । ‘स्वाब दिएर गएपछि नेगेटिभ रिपोर्ट आयो भने मोबाइलमा मेसेज पठाउँछौं,’ उनले भने, ‘मोबाइल नम्बर गलत दिएका कारण यस्तो भएको होला ।’ तर, युवकले आफूले सबै विवरण सही दिएको बताए ।

ईडीसीडीका निर्देशक डा. वासुदेव पाण्डेले पैसा तिरेर पीसीआर गर्ने ठाउँमा रिपोर्ट हराउने, विवरण गडबड हुने समस्या देखिने गरेको बताए । ‘गएको साताभर अस्पतालमा बेड नपुगेको समस्यातिर लाग्दा यस्तो रिपोर्ट यताउता हुने समस्या आइरहेको पाएको छु,’ उनले भने, ‘उहाँ (संक्रमित युवक) को बारेमा पनि हामीले बुधबार मात्रै स्वास्थ्य मन्त्रालयबाट थाहा पाइसक्यौं, भोलि (बिहीबार) नै टोली खटाएर यसबारे विस्तृत बुझ्छौं, अरूको ट्रेसिङ पनि गर्छौं ।’ कान्तिपुर दैनिकमा फातिमा बानुले खबर लेखेकी छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*