राष्ट्रिय झण्डा जलाएको म्युजिक भिडियो बनाउने एकजना मकवानपुरबाट पक्राउ
हेटौंडा । राष्ट्रिय झण्डा जलाएको म्युजिक भिडयो बनाउने एकजना मकवानपुरबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा वाग्मती गाउँपालिका वडा नम्बर ३ सिमल्टारका २५ बर्षीय मिनबहादुर बम्जन रहेका छन् । उनी मंगलबार साँझ पक्राउ परेका हुन्।
सोही समूहका एक जनालाई मंगलबार काठमाडौंबाट पक्राउ गरिएको थियो । काठमाडौंबाट सो समूहका क्यामरामेन पक्राउ परेका हुन् । महानगरीय अपराध महाशाखाको टोलीले मंगलबार उनलाई काठमाडौंबाट पक्राउ गरेको स्रोतले जानकारी दिएको छ।
यस गीतका गायक गेल्जङदोर्जे तामाङलाई प्रहरीले खोजी गरिरहेको छ । सोमबार एक युट्युव च्यानल मार्फत ुदेशद्रोहीु नामको म्युजिक भिडिओ सार्वजनिक भएको थियो। त्यस भिडियोमा गायक तामाङले झण्डा जलाएको भिडियो छ । भिडियोमा बाहुन क्षेत्री र हिन्दुलाई गाली गरिएको छ ।
मुलुकी अपराध संहिताले राष्ट्रिय गान वा राष्ट्रिय झण्डा अपमान वा क्षति गर्न निषेध गरेको छ । यदि यस्तो कसूर गरे ३ वर्ष कैद सजाय, ३० हजार जरिवाना वा दुवै हुनसक्ने व्यवस्था छ ।
यस्तै, राष्ट्रिय झण्डा जलाएको म्युजिक भिडियो बनाउनेमाथि कारबाही गर्न नेपाल प्रहरीको साइबर ब्यूरोमा ७० वटा भन्दा बढी उजुरी परेको छ ।काठमाडौंस्थित ब्युरोमा मंगलबार ७० भन्दा बढि उजुरी परेको जनाइएको । त्यस्तै विभिन्न संघसंस्थाले घटनामा संलग्नलाई कारवाही गरेका छन् ।

बाइलाइन नेपाल











