उपत्यकामा कोरोना सङ्क्रमण उच्च, जटिल अवस्था आउन सक्ने

बाइलाइन नेपाल
१ भाद्र २०७७, सोमबार ०८:०१

कोरोनाविरुद्ध लगाइएको बन्दाबन्दी खुलेसँंगै काठमाडौँ उपत्यकामा छिटपुट रूपमा देखिएको कोरोना सङ्क्रमण पछिल्ला दिनमा ह्वात्तै बढेको छ । दैनिक सयको हाराहारीमा देखिएको कोरोना सङ्क्रमण आइतबार हाल सम्मकै बढी देखिएको छ । उपत्यकामा पनि काठमाडौँमा सङ्क्रमितको सङ्ख्या उच्च देखिएकोे हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाए अनुसार काठमाडौँ उपत्यकामा मात्र १७२ जनामा कोरोना पुष्टि भएको छ । काठमाडौँमा १२६, ललितपुरमा ३८ र भक्तपुरमा आठ जनामा कोरोना पुष्टि भएको मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए ।प्रवक्ता गौतमले यही अवस्थाले उपत्यकामा कोरोना बढ्दै जाने हो भने भोलिका दिनमा अझ जटिल अवस्था आउन सक्नेछ भन्दै सचेत हुन आग्रह गरे ।

राजधानी काठमाडौँसँगै देशभर कोरोना सङ्क्रमण दिनहुुँ बढ्दै गएको छ । देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा सोमबार ६४१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । आइतबार देशभरका ३९ वटा प्रयोगशालामा १२ हजार २४७ वटा पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको थियो । पीसीआर परीक्षण भएको यो सङ्ख्या हाल सम्मकै धेरै हो । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा थप दुई कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

पर्सामा ४७ वर्षीय पुरुष र मोरङकी ५० वर्षीया महिलाको कोरोनाका कारण मृत्यु भएको हो । योसहित हालसम्म नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १०४ पुगेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा सरोज ढुङ्गेलले लेखेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*