कोरोनाबाट बच्न बागमती प्रदेशका प्रहरी अब ‘फेस शिल्ड’ लगाएर ड्युटीमा
कोरोना भाइरसको संक्रमणबाट बच्न प्रहरीहरू अब ‘फेस शिल्ड’ लगाएर कार्यस्थलमा खटिने भएका छन् । देशमा कोरोना संक्रमण तीव्र रूपमा फैलिएको भन्दै बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाले फेस शिल्ड लगाएर ड्युटीमा खटिने व्यवस्था गरेको जानकारी दिएको छ ।
भोलि १ भदौदेखि प्रदेश प्रहरी कार्यालयका प्रत्यक्ष मातहतमा रहेका प्रहरी सबैले फेस शिल्ड लगाएर ड्युटी गर्ने व्यवस्था मिलाइएको प्रहरी प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक सुदीप गिरीले बताए । कार्यालयले प्रदेशका १० जिल्ला (उपत्यकाका ३ जिल्लाबाहेक) मा कार्यरत ४ हजार ७ सय प्रहरीलाई फेस शिल्ड वितरण गरिएको उनले जानकारी दिए ।
‘पहिलो चरणमा ४ हजार ७ सय प्रहरीलाई वितरण गरेका छौँ । ड्युटीमा खटिएका प्रहरी आमसर्वसाधारण र प्रहरीबाटै सुरक्षित भएर काम गर्नुपर्ने भएकाले फेस शिल्ड वितरण गरेका हौँ,’ गिरीले भने । कोरोनाबाट प्रहरी बढी जोखिममा भएकाले स्वास्थ्य सुरक्षाको व्यवस्था गरिएको उनको भनाइ छ ।
एसएसपी गिरीका अनुसार सातवटै प्रदेश प्रहरी कार्यालयमध्ये फिल्डमा खटिएका प्रहरीलाई फेस शिल्ड वितरण गर्ने बागमती प्रदेश पहिलो हो । फेस शिल्डमा प्रहरीको लोगो र ‘बागमती प्रदेश प्रहरी’ लेखिएको छ । फिल्डमा नियमित ड्युटीमा खटिने हरेक प्रहरीले अब फेस शिल्ड लगाएर मात्रै ड्युटी गर्नुपर्नेछ ।
प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक वसन्तकुमार लामाले प्रहरीहरूमा समेत कोरोना देखिएकाले संक्रमणलाई रोक्न ड्युटीमा खटिँदा अनिवार्य फेस शिल्ड, मास्क लगाउन निर्देशन दिएका छन् । प्रहरी कार्यालयमा सम्भावित संक्रमणको जोखिमलाई न्यूनीकरण गर्न पक्राउ परेका व्यक्ति र जोखिममा कार्यरत प्रहरीलाई अनिवार्य कोरोना परीक्षण गर्ने व्यवस्था मिलाएको गिरीले बताए ।
प्रहरीलाई समूहगत रूपमा नबस्न निर्देशन जारी भएको छ । एसएसपी गिरीले सबै प्रहरी कार्यालयमा स्वास्थ्य सुरक्षा सामग्री उपलब्ध गराउने, हरेक प्रहरी कार्यालयमा क्वारेन्टाइन स्थापना गर्ने, अत्यावश्यक कामले कार्यालयबाहिर जाने प्रहरीहरूलाई क्वारेन्टाइनमा बस्नेलगायतका सुरक्षा सावधानी अपनाइएको जानकारी दिए ।
प्रदेशमा कार्यरत ४१ प्रहरीलाई कोरोना
बागमती प्रदेशको १० जिल्लामा कार्यरत ४१ जना प्रहरीलाई कोरोना संक्रमण पुष्टि भएको प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ । हालसम्म कार्यालयकाे प्रत्यक्ष मातहतमा रहेका संघीय प्रहरी इकाई कार्यालय, काभ्रेमा कार्यरत १९ जना प्रहरीलाई कोरोना पुष्टि भइसकेको छ । प्रदेशको अन्य जिल्लामा गरी २२ जनालाई कोरोना संक्रमण पुष्टि भइसकेको गिरीले जानकारी दिए ।
प्रदेशको राजधानीसमेत रहेको हेटाैँडामा कार्यरत १६ जना प्रहरीलाई हालसम्म संक्रमण पुष्टि भइसकेको छ । केही दिनअघि प्रदेश प्रहरी कार्यालय, हेटौँडामा कार्यरत ३ जना प्रहरीलाई पुष्टि भएको हेटौँडा आइसोलेसनले जानकारी दिएको छ ।

बाइलाइन नेपाल











