‘अपवित्र रगत’माथि हेटौंडामा चर्चा

बाइलाइन नेपाल
३१ श्रावण २०७७, शनिबार १८:१०

महिनावारीका बेला महिलामाथि गरिने छुवाछुत अन्त्य हुन नसकेको भन्दै चिन्ता व्यक्त गरिएको छ । शनिबार हेटौंडामा प्रविधिमार्फत आयोजित एक कार्यक्रमका वक्ताहरुले महिनाबारीका बेला हुने छुई प्रथा रोक्न महिलामा आँट र पुरुषको साथ जरुरी रहेको औंल्याइएको हो ।

आँचल साहित्य कला पुञ्ज मकवानपुरको सचेतनामुलक तीज विशेष कार्यक्रममा लेखक तथा अभियन्ता राधा पौडेलको पुस्तक ‘अपवित्र रगत’माथि चर्चा तथा महिनावारी केन्द्रित बहस भएको हो । भर्चुअल माध्यमबाट भएको उक्त कार्यक्रममा लेखक राधा पौडेलसँग सहजकर्ता तथा आँचलकी सचिव भावना सापकोटाले बहस गरेकी थिइन् ।

बहसका क्रममा अभियन्ता तथा लेखक पौडेलले महिनावारीको सन्दर्भमा महिलाहरू स्वास्थ्य सचेततामा सधैँ अग्रसर हुनुपर्ने र समाज तथा राष्ट्रले पनि महिलामैत्री व्यवहार प्रदर्शन गर्नुपर्नेमा जोड दिइन् । पौडेल ‘खलंगामा हमला’ पुस्तकको लागि मदन पुरस्कार बिजेता लेखक पनि हुन् ।

कार्यक्रममा कवि टीका आत्रेयले ‘सृष्टि मसी’ शीर्षकको कविता बाचन गरेकी थिइन् भने पूर्व मिस नेपाल तथा मर्यादित महिनावारीकी अभियन्ता शृङ्खला खतिवडाले नेपाली महिलाहरूको महिनावारी सम्मानित हुन नसकेको र यसरी पिछडिएको समाज परिवर्तन हुनुपर्ने बताएकी थिइन् । आँचलकी सहसचिव नीरा शर्माले समीक्षकीय टिप्पणी राखेकी थिइन् ।

आँचलकी सविता तिमल्सिनाले सञ्चालन गरेको कार्यक्रममा कोषाध्यक्ष शुभद्रा हुमागाईँले स्वागत मन्तव्य राखेकी थिइन् । आँचलकी कार्यवाहक अध्यक्ष अनिता न्यौपानेको सभाध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरकी उपप्रमुख भगवती पुडासैनीको प्रमुख आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*