सिन्धुपाल्चोकमा पहिरोले १३ घर पुरिए, १३ जना बेपत्ता
सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नम्बर २ लिदिको लामा टोलमा पहिरो जाँदा १३ वटा घर पुरिएका छन् । पाँच घर परिवारका सदस्यहरु सम्पर्कविहीन छन् ।शुक्रबार बिहान करिब ६ बजेतिर आएको पहिरोले घरहरु पुरिएका हुन् । जुगल गाउँपालिकाका योजना अधिकृत रामबाबु नेपालले अनलाइनखबरसँग भने, ‘१३ वटा घर पुरिएर देखिँदै देखिँदैन, पाँच घर परिवारका सदस्यहरु सम्पर्कमा हुनुहुन्न । ती पाँच घर परिवारमा कति जना सदस्य हुनुहुन्थ्यो भन्ने पनि पत्ता लागेको छैन ।’
१५ जना भने पहिरोबाट निस्किएर आफैं लप्सीचौर भन्ने स्थानमा आएर बसिरहेका उनले जानकारी दिए । उनका अनुसार सो क्षेत्रमा २५–३० घरहरु जोखिममा छन् ।अहिले पानी पर्न रोकिए पनि पहिरो झरिरहेकाले उद्धार टोली खटिन सकेको छैन ।
पहिरोले पुरिएका १३ घरमध्ये पाँच परिवारका १३ जना सम्पर्कविहीन भएको जुगल गाउँपालिकाका योजना अधिकृत रामबावु नेपालले जानकारी दिए ।पहिरोले घरमा पुरिएका आफै निस्कन सक्ने स्थानिय निस्केर लप्सेचौरमा सुरक्षित ठाउँमा गएर बसेका छन् । पहिरोको कारण ३० घर जोखिममा परेको बताइएको छ ।
घटनास्थलबाट ७ किलोमिटर टाढा झिर्कुबाट नेपााली सेनाको टोली उद्धारका लागी घटनास्थल तर्फ जाँदै छ । कात्तिके र जलविरेबाट प्रहरी पनि घटनास्थल तर्फ जाँदै छ ।सभामुख अग्निप्रसाद सापकोटा नेपाली सेनाको हेलिकप्टरमा त्यसतर्फ लागेका छन् । उद्धारका लागी अरु तीनवटा हेलिकप्टरबाट सुरक्षाकर्मीलाई त्यसतर्फ पठाउन लागिएको बताइएको छ ।
१९ साउनमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११ मा पहिरोमा पुरिएर ८ जनाको मृत्यु भएको थियो । यस्तै २४ असारमा गएको बाढी पहिरोमा बेपत्ता भएका २२ जना अझै फेला परेका छैनन् ।

बाइलाइन नेपाल











