एम्बुलेन्स नपाउँदा ५ घण्टादेखि संक्रमित हेटौँडा अस्पतालमै अलपत्र
कोरोना संक्रमितलाई आइसोलेसनसम्म पुर्याउन एम्बुलेन्स नपाएपछि समस्या भएको छ । हेटौँडा–६ घर भएकी ३२ वर्षीया गृहणी महिलालाई आज शुक्रबार गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको थियो । हेटौँडा अस्पतालमा उपचार गर्न आएकी संक्रमितलाई आइसोलेसनमा पुर्याउन एम्बुलेन्स नपाएपछि ५ घण्टादेखि उनी अलपत्र परेकी हुन् ।
ज्वरो र घाँटीमा समस्या भएपछि उनी कोरोना परीक्षणको रिपोर्ट नआउँदै अस्पतालमा उपचार गर्न आएको खुलेको छ । हेटौँडा अस्पताल विकास समितिका अध्यक्ष प्रकाश पौडेलले कोरोना पोजिटिभ हुनु अगावै उपचारको लागि आएको जानकारी दिए । ‘उहाँ उपचारको लागि आउनुभएको थियो । उपचारकै क्रममा कोरोना रिपोर्ट पोजिटिभ आएको हो,’ अध्यक्ष पौडेलले भने । संक्रमण पुष्टि भएपछि हेटौँडा–४ कर्रास्थित आइसोलेसन वार्डमा पठाउन एम्बुलेन्स खोजी गर्दा नपाएको पौडेलले जानकारी दिए । संक्रमित महिलालाई आइसोलेसन पुर्याउन एम्बुलेन्सहरूलाई आग्रह गर्दा पनि अस्वीकार गरेको उनले बताएका छन् ।
‘एम्बुलेन्सलाई आग्रह गर्दा कसैले मानेनन् । उहाँ आज दिउँसो ३ बजेदेखि अस्पतालमै हुनुहुन्छ । उहाँलाई आइसोलेसनसम्म पुर्याउन केही उपाय खोजी गरिरहेका छौँ,’ पौडेलले भने । समाचार तयार पार्दासम्म संक्रमित महिला अस्पतालको ज्वरो क्लिनिकमै रहेकी छन् ।एम्बुलेन्स नपाउँदा संक्रमित अलपत्र परेको यो पहिलो घटना भने होइन । यसअघि पनि हेटौँडा–११ बस्दै आएका संक्रमितलाई आइसोलेसनसम्म पुर्याउन एम्बुलेन्स नपाएको पौडेलले बताए । अस्पतालको एउटा एम्बुलेन्स आकस्मिक सेवाका लागि राखिएकोले संक्रमित ओसार्न प्रयोग गर्न नसकिएको उनको भनाइ छ ।
आइसोलेसन पठाउन नसकिए पनि संक्रमितलाई ज्वरो क्लिनिकको छुटै बेडमा सुरक्षित साथ राखिएको पौडेलको दावी छ । मकवानपुरमा संक्रमितलाई आइसोलेसन ल्याउन र कोरोनामुक्त भएपछि घर पुर्याउन नारायणी यातायात कम्पनी प्रालिको एम्बुलेन्स प्रयोग गरिँदै आएको थियो । उक्त एम्बुलेन्सका चालक सम्पर्कमा नआएकोले समस्या भएको पौडेलले बताए ।संक्रमित महिलाले स्कुटर चलाउन सक्ने भएकोले उनलाई आइसोलेसनसम्म स्कुटरमै पठाउने तयारी गरिएको अस्पतालका अध्यक्ष पौडेलले जानकारी दिएका छन् । ‘उहाँलाई सुरक्षितसँग आइसोलेसनमा स्कुटरमै पठाउने तयारी गरेका छौं । एम्बुलेन्स नपाएपछि कुनै उपाय पनि लगाएरै पठाउनु पर्यो नि !’, पौडेलले भने ।
मकवानपुरमा आज मात्रै १ प्रहरीसहित ६ जनालाई कोरोना संक्रमण पुष्टि भएको थियो । हेटौँडा–१० बसपार्क प्रहरी चौकीमा कार्यरत पर्सा घर भएका प्रहरीलाई कोरोना देखिएपछि प्रहरी चौकी सिल गरिएको छ । ६ जना प्रहरीलाई क्वारेन्टाइनमा राखिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक इन्द्र बहादुर रानाले जानकारी दिए ।-साभारः शिलापत्र डटकमबाट

बाइलाइन नेपाल











