मकवानपुरगढी गाउँपालिकाको भालुखोला एकसाताका लागि सिल, सवारीसाधनलाई रोक
हेटौंडा। कोरोना संक्रमित फेला परेपछि मकवानपुरगढी गाउँपालिकाले वडा नम्बर ५ को सामरीमा रहेको भालुखोला क्षेत्रलाई सिल गरेको छ । भालुखोलामा बसोबास गर्ने ७० वर्षिय बृद्धमा बुधबार कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको थियो । कोरोना संक्रमित देखिएको क्षेत्रलाई एक साताका लागि सिल गर्ने निर्णय गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामकुमार पुडासैनीले बताए ।
गाउँपालिकामा कोरोनाका संक्रमित फेला पर्न थालेपछि मकवानपुरगढी गाउँपालिकाले सूचना जारी गर्दै सुरक्षा कडाई थालेको छ । गाउँपालिकामा कोरोना संक्रमण तथा रोकथाम समन्वय समितिको बैठकले विभिन्न कार्य गर्ने गराउने भनि निर्णय गरेको छ । मकवानपुरगढीमा हालसम्म दुई जनालाई कोरोना संक्रमणको पुष्टि भइसकेको छ । एक जना वडा नम्बर ५ भालुखोलाको र अर्को वडा नम्बर ३ बस्ने एक युवती रहेकी छिन् ।
दुई जनामा कोरोना देखिए लगत्तै गढी गाउँपालिकाको वडा नम्बर ४ को मनकामना चोक, वडा ५ को बुङ्गदलमा प्रहरी, टोल विकास संस्थाको पदाधिकारी रहने गरी सुरक्षित डेक्स सञ्चालन गर्ने भएको छ । अति आवश्यक दैनिक उपभोग्य सामाग्री दूध, तरकारी फलफूल र बिरामी बोक्ने सवारीसाधन बाहेक अन्य सवारीसाधनमा रोक लगाउन निर्णय गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत पुडासैनीले जानकारी दिए ।
संक्रमित संग संसर्ग भएका व्यक्तीहरु होम क्वारेन्टाईनमा बस्ने र अन्य गाउँबासीहरु सुरक्षित रहन माक्सको प्रयोग, सामाजिक दुरी कायम गरी काम गर्ने र सावुन पानीले हात धुन गाउँपालिकाको आग्रह रहेको छ ।


बाइलाइन नेपाल











