कक्षा ११ को परीक्षा फेरि स्थगित
राष्ट्रिय परीक्षा बोर्डले विद्यालयहरूलाई कक्षा ११ को वार्षिक परीक्षा फेरि स्थगित गरेको छ । नोवेल कोरोना भाइरसका कारण सरकारले परीक्षा सञ्चालन सम्बन्धी निर्णय नगरेको भन्दै बोर्डले तत्काललाई परीक्षा नलिन निर्देशन दिएको हो ।
कोरोना संक्रमणका कारण नेपाल सरकारले हालसम्म विद्यालय पुनः सञ्चालनको निर्णय गरिनसकेको अवस्थामा समेत केही विद्यालयहरूले कक्षा ११ को परीक्षा सम्बन्धी कार्यक्रम सार्वजनिक गरको पाएको हुँदा सोबाट विद्यार्थी तथा अभिभावहरूमा त्रासको वातावरण सिर्जना हुन गएकोले नेपाल सरकारबाट विद्यालय पुनः सञ्चालनको निर्णय नभएसम्मका लागि परीक्षा सम्बन्धी कार्यहरू नगर्नु,नगराउनुहुन सम्बन्धित सबैलाई सूचित गरिन्छ,’ बोर्डद्वारा जारी सूचनामा भनिएको छ ।
कक्षा ११ को परीक्षा सञ्चालन, व्यवस्थापन, मूल्यांकन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि अनुसार कक्षा ११ को वार्षिक परीक्षा सम्बन्धित विद्यालयले नै सञ्चालन गर्ने व्यवस्था छ । कोभिड११ का कारण स्थगित कक्षा ११ को नियमिततर्फको परीक्षा आगामी माघभन्दा अगाडि लिइसक्नु पर्ने व्यवस्था छ । आंशिक तथा ग्रेड वृद्धि परीक्षार्थीले भने २०७७ सालको कक्षा १२ को वार्षिक परीक्षा सञ्चालन हुनुपूर्व परीक्षा दिइसक्नु कार्यविधिमा उल्लेख छ ।
विद्यालयहरूले नियमिततर्फ कम्तिमा ७० प्रतिशत हाजिरी भएका विद्यार्थीहरूलाई मात्रै परीक्षामा सहभागी गराइने भएको छ । कक्षा १२ को वार्षिक परीक्षा दिन कक्षा ११ का हरेक विषयमा सैद्धान्तिकतर्फ न्यूनत्तम ‘डि प्लस’ र प्रयोगात्मकतर्फ ‘सी’ ल्याउनु पर्ने व्यवस्था गरिएको छ ।

बाइलाइन नेपाल











