वाग्मती प्रदेशमा हालसम्मकै धेरै संक्रमित भेटिए
मुलुकको केन्द्रीय राजधानीसमेत रहेको वाग्मती प्रदेशमा हालसम्मकै धेरै कोरोना भाइरस (कोभिड-१९) संक्रमित भेटिएका छन् । प्रदेशका विभिन्न अस्पताल र प्रयोगशालामा गरिएको परीक्षणमा बिहीबार एकैदिन ९६ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । २४ घण्टाभित्र प्रदेशमा हालसम्मकै सबैभन्दा धेरै संक्रमित फेला परेको वाग्मती प्रदेशको राजधानीहेटौँडास्थित सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ ।
आज मात्रै काठमाडौंमा ७६ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार ललितपुरमा १०, काभ्रेमा ३, मकवानपुरमा २ तथा भक्तपुर, चितवन, नुवाकोट, रामेछाप र दोलखामा १/१ जनालाई कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका कोभिड–१९ प्रवक्ता डा. पुरुषोत्तम राज सेढाईंले जानकारी दिए ।
‘प्रदेशमा हालसम्मकै धेरै संक्रमित आज देखिएका छन् । यसभन्दा अघि ६८ जनासम्मलाई २४ घण्टाभित्र संक्रमण पुष्टि भएको थियो’, प्रवक्ता सेढाईंले शिलापत्रसँग भने । देशभर कोरोना संक्रमित संख्याको ६.५८ प्रतिशत प्रदेशका रहेका छन् । देशको तुलनामा ७ दिनअघि मात्रै प्रदेशमा ५.४ प्रतिशत संक्रमित थिए ।
प्रदेशमा हालसम्म कोरोना संक्रमितको संख्या १ हजार ४ सय ३३ पुगेको छ । १४ साउनमा मात्रै प्रदेशमा संक्रमितको संख्या १ हजार नाघेको थियो । ७ दिनभित्र ४ सय २१ जना नयाँ संक्रमित प्रदेशमा थपिएको तथ्यांकमा उल्लेख छ । यो अवधिमा काठमाडौंमा मात्रै ३ सय २४ जना नयाँ संक्रमित फेला परेका छन् ।
प्रदेशभर सबैभन्दा धेरै काठमाडौंमा ६ सय ७५, धादिङको १ सय ४३, चितवनको १ सय २७, भक्तपुरको ७७, सिन्धुपाल्चोकको ७४, मकवानपुरमा ५४, नुवाकोटमा ४५, रामेछापमा ३९, काभ्रेमा २६, सिन्धुलीमा २५, दोलखमा १३ र रसुवामा १२ जनालाई संक्रमण पुष्टि भइसकेको मन्त्रालयले जानकारी दिएको छ ।
प्रदेशमा १० जनाले कोरोना संक्रमणको कारण ज्यान गुमाइसकेका छन् । मन्त्रालयका अनुसार प्रदेशमा ५ सय ९१ जनाले कोरोनालाई जितिसकेका छन् भने ८ सय ३२ जनाको उपचार भइरहेको छ । प्रदेशमा हालसम्म ३७ हजार ५ सय ४२ जनाको स्वाब परीक्षण गरिएको मन्त्रालयका प्रवक्ता सेढाईंले जानकारी दिए ।

बाइलाइन नेपाल











