प्रहरीमा कोरोना पुष्टि भएपछि हटिया प्रहरी चौकी सिल
हेटौंडा । कार्यरत प्रहरीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि हेटौंडा उपमहानगरपालिका–१७ हटियामा रहेको प्रहरी चौकीलाई सिल गरिएको छ । प्रहरी चौकीमा कार्यरत् एकजनामा कोरोना पुष्टि भएपछि बिहीबार नै चौकी सिल गरिएको मकवानपुरका प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।
अन्य प्रहरी कर्मचारी तथा सर्वसाधारणलाई कोरोना सर्नबाट जोगाउन सुरक्षा सावधानीका लागि सिल गरिएको रानाले बताए । स्वास्थ्यकर्मीको टोलीले चौकीका ६ जना प्रहरीको स्वाब संकलन गरेको जनाइएको छ । हेटौंडामा बिहीबार देखिएका २ जना कोरोना संक्रमित मध्ये एक जना प्रहरी रहेका थिए ।
कोरोनाका कारण भवन तथा प्रहरी कार्यालय सिल गरिएको मकवानपुरमा यो दोस्रो घटना हो । केही दिनअघि टिसिएन रोडका दुई जनामा कोरोना देखिएपछि सिता भवन सिल गरिएको थियो ।

बाइलाइन नेपाल











