फुटबलको सबैभन्दा महँगो खेल आज

बाइलाइन नेपाल
२० श्रावण २०७७, मंगलवार १२:३४
वेम्बली रंगशाला फाइल तस्बिर : रोयटर्स

एक खेल जितेमा २० करोड अमेरिकी डलरभन्दा बढी भित्रिने । हारमा शून्य रकम र उल्टै घोर निराशा । विश्व फुटबलको सबैभन्दा महँगो खेल आज मंगलबार हुँदैछ । इंग्लिस प्रिमियर लिगमा बढुवाका लागि यो खेल हुनेछ, च्याम्पिपयनसिप प्ले अफका रूपमा ।

वेम्बलीमा हुने खेलमा दुई लन्डन क्लब ब्रेन्टफोर्ड र फुलहम भिड्ने छन् । इंग्ल्यान्डको दोस्रो डिभिजनबाट अहिलेसम्म लिड्स र वेस्ट ब्रुमले बढुवा पाइसकेकोमा माथि उक्लिने तेस्रो तथा अन्तिम टिमको निर्णय यो खेलबाट हुनेछ । यो खेल जित्नेले प्रिमियर लिगमा टेलिभिजन प्रसारण र प्रायोजनबाट भित्रिने २० करोड डलरभन्दा बढी पाउनेछ । पराजित हुने टिमले भने केही पनि पाउने छैन र फेरि दोस्रो डिभिजनमै खेल्नु पर्नेछ ।

ब्रेन्टफोर्ड च्याम्पियनसिप लिगको समाप्तिमा तेस्रोमा रहेको थियो भने फुलहम चौथो । ब्रेन्टफोर्ड ७३ वर्षयता पहिलोपल्ट इंग्ल्यान्डको माथिल्लो डिभिजनमा खेल्ने प्रयासमा छ । फुलहम भने गत सिजन मात्रै प्रिमियर लिगबाट रेलिगेसनमा परेको थियो र उसले आजको खेल जिते, फेरि सिधै माथिल्लो डिभिजनमा पुनरागमन रच्नेछ । खेल नेपाली समयअनुसार मंगलबार राति साढे १२ बजे सुरु हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*