मकवानपुरमा फ्रि मिडिया नेटवर्क गठन

बाइलाइन नेपाल
August 3rd, 2020

हेटौंडा । मकवानपुरमा फ्रि मिडिया नेटवर्क गठन गरिएको छ । हेटौंडामा आयोजित एक कार्यक्रममा पत्रकार महासंघ मकवानपुर अध्यक्ष हरि हुमागाईंको संयोजकत्वमा १५ सदस्यीय नेटवर्क गठन गरिएको हो ।

नेटवर्कमा जिल्ला समन्वय समितिको कार्यालयका एक, जिल्ला प्रशासन कार्यालयका एक, सुरक्षा निकायका दुई, नेपाल बार एसोसिएसनका एक, उद्योग वाणिज्य संघका एक, जिल्ला महिला सञ्जालका एक, मानवअधिकार सम्बन्धी संघरसंस्थाका एक, गैरसरकारी संस्था महासंघका एक, नागरिक समाज संघ÷संस्थाका दुई र जिल्लास्थित दुई जना वरिष्ठ पत्रकार सदस्य छन् ।

नेटवर्कले पत्रकारको भौतिक सुरक्षा सुनिश्चितका लागि छलफल गरी निष्कर्ष निकाल्ने, मिडियामा आएका समाचारका विषयबारे छलफल गरि सुधारका लागि प्रयत्न गर्ने र पत्रकार तथा अन्य मिडिया सरोकारवालाबीच समन्वयकारी भूमिका निर्वाह गर्नेछ । नेपाल पत्रकार महासंघ केन्द्रीय समिति अध्यक्ष गोविन्द आचार्यको प्रमुख आतिथ्यतामा हेटौंडामा भेला तथा अन्तक्रिया गरिएको थियो । सोही कार्यक्रमले मकवानपुरमा फ्रि मिडिया नेटवर्क गठन गरेको हो ।

कार्यक्रममा आचार्यले नेटवर्कले प्रेस स्वतन्त्रता उल्लंघनका घटनाको स्वतन्त्र अनुगमन गर्ने विश्वास व्यक्त गरे । उनले प्रेस स्वतन्त्रता, मिडिया सुरक्षा र व्यासायिकताबारे पहिचानमा आएका चुनौतीबारे सबै सञ्जाल मिलेर संयुक्त कार्ययोजना बनाउन आग्रह गरे ।

नेपालका सञ्चारगृह व्यवसायिक हुन नसक्दा कोरोना संक्रमणको छोटो अवधिमा धेरै नोक्सान भएको उनले बताए । कोरोना संक्रमणले पाँच वटा रेडियो बन्द भएको जानकारी दिए । २० जना पत्रकारमा कोरोना संक्रमण देखिएकोमा १८ जना संक्रमणमुक्त भइसकेको उनले जानकारी दिए । लकडाउन अवधिमा देशभरका ७ सय छापामाध्यम बन्द भएको भन्दै उनले कोरोना प्रभावका कारण पत्रकार र सञ्चार गृह प्रभावित हुने क्रम बढ्दो रहेको बताए ।

‘स्वास्थ्यकर्मी, सुरक्षाकर्मीसँगै सञ्चारकर्मी अग्रमोर्चामा छन्,’ उनले रोग नियन्त्रणका लागि जनतालाई शिक्षा र सूचना दिने काममा पत्रकार खटिइरहेको भन्दै थपे–हामी आमजनताका समस्याका बारे बोलिरहेका छौं भने जनतालाई सही सूचना के हो भनेर पनि प्रवाह गरिरहेका छौं । यस्तो अबस्थामा सञ्चार क्षेत्र आफंै अग्रपंक्तिमा रहँदा आफंै प्रभावित हुनुपरेको उनको भनाइ थियो ।

उनले भने–ठूला मिडियामा काम गर्ने कतिपय पत्रकारले तलबभत्ता नपाएको, कामबााट निष्कासित हुनुपरेको, आधा तलबमा काम गर्नुपरेको, ‘अहिलेलाई बिदामा बस्नुस् है’ भनिएको छ । यसबाट सदरमुकाममा बसेर काम गर्ने र वैकल्पिक पेशा नभएका प्रभावित भएको उनको भनाइ छ । पत्रकार बिस्थापित हुनु भनेको धेरै ठूलो क्षति हो भन्दै उनले भने–मिडिया बन्द हुनु र पत्रकार पलायन हुनु भनेको जनताको अधिकार, लोकतन्त्र, मानवअधिकार, विधिको शासनलाई वकालत गर्ने मानिस पलायन हुनु हो ।

राज्यले मिडियालाई परेको समस्या र पेशागतरुपमा पत्रकारलाई परेका समस्या समाधानका लागि श्रमजीवी पत्रकार ऐनको पूर्णपालना भए÷नभएको अनुगमन गरेर पालना गराउनुपर्ने उनले बताए । उनले भने–मिडिया हाउसलाई पनि सहुलियतपूर्ण ऋण दिनुप¥यो । सन्देशमूलक सामग्री प्रसारण तथा प्रकाशन गर्न दिनुपर्यो ।

पत्रकार महासंघ केन्द्रीय महासचिव रमेश बिष्टले नेटवर्कले प्रेस स्वतन्त्रता उल्लंघनका घटना भएको अबस्थामा त्यसलाई पुष्टि गरी रेकर्ड गर्न सुझाव दिए । महासंघले दुई हजार भन्दा बढी पत्रकारलाई प्रत्यक्ष टेलिफोन गरी उनीहरुको अबस्थाबारे सर्वेक्षण गरिरहेको महासचिव बिष्टले जानकारी दिए । शाखा अध्यक्षलाई २५ वटा प्रश्न पठाएर जवाफ माग्ने काम महासंघले गरिरहेको छ ।

कार्यक्रममा वाग्मती प्रदेशका सञ्चार रजिष्ट्रार रेवती सापकोटा, नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य कृष्ण गिरी, वाग्मती प्रदेश अध्यक्ष प्रताप बिष्ट, सल्लाहकार गिरिजा अधिकारी, महासचिव कृष्ण सारुमगर, मकवानपुर पूर्वअध्यक्ष राममणि दाहाल, जिल्ला समन्वय समिति मकवानपुरका अधिकृत भीमलाल महर्जन, जिल्ला प्रशासन कार्यालय मकवानपुरका अधिकृत देवचन्द्र गर्तौला, वडा प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक इश्वरी भण्डारी, मकवानपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष माधव न्यौपाने, जिल्ला बार एशोसिएसन मकवानपुरका उपाध्यक्ष ऋषि केबी, गैरसरकारी संस्था महासंघ मकवानपुरका कार्यबाहक अध्यक्ष रमिला सापकोटालगायत सरोकारवाला प्रतिनिधिको सहभागिता थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*